logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ग्राउण्ड ह्याण्डलिङको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

    ग्राउण्ड ह्याण्डलिङको विकल्प खोज्दै नागरिक उड्डयन प्राधिकरण

    3.8K
    Shares

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले नेपाल एयरलाइन्सले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताएका छन् । बुधवार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानिर्देशक अधिकारीले वायुसेवा निगमले दिँदै आएको ग्राउण्ड ह्याण्डलिङ सेवामा प्रश्न उठ्ने गरेको भन्दै ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको विकल्प खोज्ने बताए ।

    उनले वायुसेवा निगममा हुँदै आएको राजनैतिक किचलोका कारण जुनसुकै बेला हवाई उडान सेवामा अवरोध हुनसक्ने भन्दै प्राधिकरणले उपयुक्त समयमा निर्णय गर्नेपनि बताए । महानिर्देशक अधिकारीले कुनैपनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउण्ड ह्याण्डलिङ सेवा दिनसक्ने कानूनी व्यवस्था रहेको उल्लेख गरे । उनले वायुुसेवा निगमका कर्मचारीले नै आन्दोलन वा हड्ताल गरे सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने बताए ।

    उनले अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक देखिएको उल्लेख गरे । अधिकारीले कानूनले दिएको अधिकार सम्मान रुपमा प्रयोग गरी कार्यान्वयन र विकल्प प्रस्तुत गर्न प्राधिकरण सचेत रहेको जिकिर गरे । उनले प्राधिकरण ग्राउण्ड ह्याण्डलिङको वैकल्पिक व्यवस्था सहितको हवाई उडान गर्नेबारे चाँडै निर्णय लिने जानकारी दिए ।

    उनले यसअघि प्राधिकरणले हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सेवा अनुमति दिँदा निजी एयरलाइन्सलाई दिएको भनेर मिडियाको प्रेसरबाट प्राधिकरण निजी वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ सेवा दिने विषयमा पछाडि हटेको बताए । अधिकारीले हप्तामा ३५ वटा हवाई उडान गर्ने कम्पनीले ग्राउण्ड ह्याण्डलिङ सेवा दिन्छु भन्दा कानूनी रुपमा प्राधिकरणले अनुमति दिनुपर्ने बताए ।

    उनले हवाई उडान कम्पनीले व्यापार गर्नको लागि उडानमा बढी प्राथमिकता दिनुपर्ने बताए । अधिकारीको भनाइ अनुसार प्राधिकरण निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सलाई ग्राउण्ड ह्याण्डलिङ सञ्चालनको जिम्मा दिने तयारी रहेको देखिन्छ ।

    अहिलेसम्म नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् । निगमले सुरुदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा दिइरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend