logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

    तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

    2.2K
    Shares
    तीन महिनामा तीन अर्बभन्दा धेरैको फलफूल आयात

    काठमाडौँ । नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन् । हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ । मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन ।

    बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक । देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ ।

    सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन । देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन ।

    भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै दुई अर्बभन्दा बढी खर्च गरेका छन् । विभागका अनुसार चालू आवको असोज मसान्तसम्म दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ ।

    उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ । भारतबाट मात्र एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

    त्यस्तै चीनबाट ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ ।

    विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन् । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    यस्तै चालू आवको असोज मसान्तसम्म २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ । त्यसबाट सरकारले तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ ।

    केरा आयातमा १६ करोड बाहिरियो

    नेपालीले तीन महिनाको अवधिमा १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ । चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ । त्यसबाट सरकारले सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ ।

    विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ । तीन महिनाको अवधिमा मात्रै १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ । त्यस्तै असोज मसान्तसम्म ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुजा, १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ ।

    पछिल्लो तीन महिनामा दुई करोड ९१ लाख ७१ हजारको किबी, एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ । यस अवधिमा अम्बा, आँपलगायतको आयातमा १८ करोड ७४ लाख बाहिर गएको छ । त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend