logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • दलका चुनावी प्रतिवद्धता : आत्मनिर्भर अर्थतन्त्रमा जोड

    दलका चुनावी प्रतिवद्धता : आत्मनिर्भर अर्थतन्त्रमा जोड

    2.1K
    Shares
    दलका चुनावी प्रतिवद्धता : आत्मनिर्भर अर्थतन्त्रमा जोड

    काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा पार्टीले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ को घोषणापत्रमा आत्मनिर्भर अर्थतन्त्रको एजेण्डा सार्वजनिक गरेका छन् ।

    सोमवार तीन राजनीतिक पार्टी नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रमा जोड दिने प्रतिवद्धता जाहेर गरेका हुन् । तीन वटै पार्टीले आर्थिक ऐजेण्डामा कृषि,रोजगारी र संरचनागत सुधार गरी अर्थतन्त्र बलियो बनाउने घोषणा गरेका छन् ।

    सोमवार नेकपा माओवादी केन्द्रले पनि आगामी निर्वाचनको घोषणा पत्रमार्फत वित्तिय संघीयता पूर्णरुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ ।

    घोषणापत्र पढ्दै अध्यक्ष पुष्पकमल दाहालले अबको मुख्य काम भनेको आर्थिक क्रान्ति भएको बताए । उनले नेपालको आर्थिक समृद्धि र विकासको निम्ति केन्द्रित हुने बताए । अध्यक्ष दाहालले नेपालको अर्थ प्रणाली सामान्य तरिकाले परिर्वतन हुन सम्भव नभएको जानकारी दिए ।

    उनले मुलुकको व्यापार घाटा कम गर्न राष्ट्रिय व्यापार प्रतिष्ठान, रोजगार निर्माणका लागि राष्ट्रिय रोजगार प्राधिकरण, राष्ट्रिय गौरवका कायोजनाका पुँजीगत खर्च वृद्धि गर्न राष्ट्रिय विकास आयोजना प्राधिकरण गठन गर्ने घोषणा गरे ।

    उनले सामुहिक उत्पादन प्रणाली विकास गर्ने, सार्वजनिक यातायातमा राज्यको भूमिका वृद्धि गर्ने, विकास निर्माणमा न्यायोचित वितरणमा जोड दिने बताए । अध्यक्ष दाहालले वैदेशिक सैन्य गठबन्धन नगर्ने, दुई अंकको आर्थिक वृद्धि गर्ने, कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने, कृषि योग्य जमिन बाँझो राख्ने प्रणालीको अन्त्य गर्ने, सामुहिक कृषि प्रणालीमार्फत कृषि उत्पादन वृद्धि गर्ने घोषणा गरे ।

    त्यस्तै, उनले किसानलाई बाली लगाउनु भन्दा अगाडि मल उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले रासायनियक मलको प्रयोग कम गर्न जैविक र प्राङ्गारिक मल उत्पादन गरी जैविक खेती प्रणालीलाई प्रोत्साहन गर्ने बताए । उनले कृषि उत्पादनको उचित मूल्य तोक्ने र प्रत्येक प्रदेशमा दुई वटा औधोगिक केन्द्र स्थापना गर्ने बताए ।

    अध्यक्ष दाहालले हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने, वैदेशिक रोजगारबाट फर्केका युवालाई रोजगारी र उद्योग खोल्न छुटको व्यवस्था गर्ने उल्लेख गरे । उनले सरकारी कार्यालयहरुमा नेपाली उत्पादन अनिवार्य गर्ने बताए । उनले १० लाख युवाहरुलाई रोजगारी दिइ २० लाख युवालाई स्वरोजगार बनाउने घोषणा गरे ।

    माओवादीले घोषणापत्रमा पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने उल्लेख छ । त्यस्तै, गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतताकासाथ अघि बढाइने उल्लेख गरेको छ ।

    पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक कार्ययोजना तयार गरी लागू गरिने घोषणा गरेको छ । ‘समृद्ध किसान, देशको सान, आत्मनिर्भर कृषि, हाम्रो अभियान’ नाराका साथ कृषि क्षेत्रका विकासका योजना समेटिएको छ ।

    कृषि वस्तुको आयात घटाउन र मुलुकको अर्थतन्त्रको आधार कृषिलाई बनाउन कृषि क्षेत्रको विकास अपरिहार्य भएको माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ ।

    नेकपा एकीकृत समाजवादी

    त्यस्तै सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गर्दै १२ महिना (वर्षभर) नै कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

    नेकपा एसले घोषणापत्रमार्फत वर्षभर कर तिर्ने करदातालाई एक महिनाको कर बराबरको रकम फिर्ता गर्ने लगायतका प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ ।

    त्यस्तै, नेपाली ध्वजाबाहक पानीजहाज सञ्चालन ल्याउन पहल गर्ने नेकपा एसका महासचिव डा.वेदुराम भुसालले घोषणा गरे । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बिस्तार तथा स्तरोन्नति, निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, व्यवस्थित, सुविधासम्पन्न र सुरक्षित हुनेगरी बिस्तार तथा आधुनिकीकरण गर्न पहल गरिने बताए ।

    भुसालले वाह्य र आन्तरिक पर्यटन र मागको प्रक्षेपणका आधारमा नेपाल वायुसेवा निगमका विमानको संख्या बढाइने घोषणा गरे । उनले ५० करोड लगानी गर्न सक्नेलाई विदेशी लगानीकर्ता परिचयपत्र उपलब्ध गराउने योजना रहेको बताए । भुसालले मुलुकमा उत्पादनमूलक, रोजगारीमुलक उच्च प्रतिफलयुक्त क्षेत्रलाई विकास गर्न सरल ब्याजदरमा सार्वजनिक ऋण परिचालन गरिने उल्लेख गरे ।

    उनले नेपालको पछौटेपन, आयात आधारित राजश्वको मुल स्रोत, डरलाग्दोरूपमा बढ्दै गइरहेको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्ति नेपालमा नै स्वरोजगार बनाई मुलुकलाई आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड दिने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी ५ वर्षमा रोजगारी र आय–आर्जनका अवसरहरु वृद्धि गरी उपभोग तथा वचत गर्ने र क्षमता वृद्धि गर्ने घोषणा गरेको छ ।

    पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आगामी ५ वर्ष भित्र आर्थिक वृद्धि दर ८ प्रतिशत पुर्‍याउने बताए । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाइने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाइने घोषणा गरे ।

    उनले प्रत्यक्ष वैदेशिक लगानीकर्तालाई लगानीमैत्री वातावरणमा विश्वस्त तुल्याउन लगानीमैत्री कानूनहरुको निर्माण गर्ने, सार्वजनिक खर्च प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाइ थप मितव्ययी र पारदर्शी बनाउने योजना ल्याउने बताए ।

    अध्यक्ष लिङदेनले करको संरचना र दरमा सुधार गरी कर प्रणालीलाई थप सरल, वैज्ञानिक र समन्यायिक बनाइने उल्लेख गरे । उनले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुलाई राज्यबाट सुविधा र संरक्षण प्रदान गर्ने, स्वदेशी उत्पादनमा कर घटाइने र सुविधा बढाईने, कच्चा पदार्थ आयात नगरी नहुने अवस्थामा मात्रै आयात भन्सार दर र अन्तःशुल्क कम गरी स्वदेशी उद्योगहरुको उत्पादन क्षमता बढाउने जानकारी दिए ।

    उनले पुँजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाइने, विप्रेषणलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्न प्रोत्साहित गरिने उल्लेख गरे ।

    आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन केन्द्रित गरी राजनीतिक दलहरुले आफ्नो पाँच वर्षे घोषणापत्र सार्वनिक गर्ने क्रम जारी रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend