logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

    चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

    2K
    Shares
    चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै केएमसीमा धर्ना

    काठमाडौं । चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौं मेडिकल कलेज केएमसी विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ । काठमाडौं महानगरपालिका–९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसी विरुद्ध आन्दोलनमा उत्रिएका हुन् । मृतककी श्रीमती सुशिला विद्याधर सहित संघर्ष समितिको टोलीले आज अस्पताल वरपर नाराबाजीसहित प्रदर्शन
    गरेको हो ।

    सो क्रममा उनीहरुले ‘सरकार पीडितलाई न्याय देऊ’, ‘लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन’, ‘केएमसी प्रशासन मुर्दावाद’, ‘हत्यारा डाक्टर मुर्दावाद’, लगायतका नारा लगाएका थिए । डाक्टरले ब्रेन ट्युमरको अप्रेसनका क्रममा टाउकोको नशा काटेका कारण बिरामीको मृत्यु भएको भन्दै आक्रोशित मृतकका आफन्तले उचित क्षतिपूर्ति र न्युरो अस्पतालमा लागेको उपचारको खर्च व्यहोर्नुपर्ने माग गरेका छन् । यता अस्पताल प्रशासनले भने कुनै चासो नदेखाएको संघर्ष समितिका संयोजक इन्द्रबहादुर श्रेष्ठले बताए ।

    बिरामीको मृत्यु भएको २१ दिन पुगिसक्दासमेत अस्पतालले कुनै चासो नदिएको उनले बताए । उनले आज पनि अस्पतालले पीडितका मागहरु सम्बोधन नगरेमा आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने चेतावनी दिए । उनले मृत्यु भएको २१ दिनसम्म परिवारलाई क्षतिपूर्ति दिने कुरा नै नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

    ‘बिरामी र बिरामीका परिवारलाई तपाई आफ्नै क्षेत्रको हुनुहुँदो रहेछ, ८० हजारमा नै अप्रेशन गर्छु भनेर मोटिभेट गरेर अप्रेशन गर्न तयार गरायो । साढे ९ बाट अप्रेशन सुरु गरेको तर, १५ मिनेटको ग्यापमा बिरामीको नशा काटेछ, रगत बगिरह्यो र त्यसपछि न्युरो हस्पिटलमा लग्ने कुरा भयो, बिरामी कुरुवाले त्यो थाहा पाएपछि के भयो भन्ने हल्ला भयो । त्यही डाक्टरको टिमले नाकमा, मुखमा कपडा कोचेर लगेका रहेछन् । त्यसबेला डाक्टर, नर्सहरुको सबैको रगताम्य भएको थियो शरीरमा । कुरुवालाई कहाँ लैजाँदै छौँ भनेनन् । मृतकको क्षपिूर्ति दिनुपर्छ, न्युरोमा लागेको उपचार खर्च व्यहोर्नुपर्छ भनेका हौँ । आज २१ दिन भइसक्यो, आजसम्म सुनुवाई नै भएको छैन । शव कुहिने अवस्थामा छ । अब भएन भने हामी प्रधानमन्त्री निवास बालुवाटार घेर्न जान्छौँ ।’संघर्ष समिती संयोजक श्रेष्ठले भने ।

    मृतकका परिवारले डा.अमृत थापाको नेतृत्वमा रहेको काठमाडौं मेडिकल कलेजको टिमले बिरामीलाई सस्तैमा अप्रेसन गरिदिने प्रलोभनमा पारी लापरवाही गरेर बिरामीको मृत्यु भएको बताए । संघर्ष समितिका सदस्यहरुले सरकार पीडितलाई न्याय दे, मेडिकल माफिया मुर्दावाद, हाम्रो माग पूरा गर, केएमसी प्रशासन मुर्दावाद, लाइसेन्स लिएर मान्छे मार्न पाइँदैन जस्ता नारा लगाएर विरोध गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend