logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सगरमाथा जाने मार्गमा फुर्वा ग्याल्जेन शेर्पाले बनाए अस्पताल, राष्ट्रपतिले गरिन् उद्घाटन

    सगरमाथा जाने मार्गमा फुर्वा ग्याल्जेन शेर्पाले बनाए अस्पताल, राष्ट्रपतिले गरिन् उद्घाटन

    3.1K
    Shares
    सगरमाथा जाने मार्गमा फुर्वा ग्याल्जेन शेर्पाले बनाए अस्पताल, राष्ट्रपतिले गरिन् उद्घाटन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य सेवामा सबै नागरिकको सहज पहुँचमा राज्यले जोड दिनुपर्ने बताएकी छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा जाने मार्ग सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङमा आज १५ शय्याको ‘हिमालयन शेर्पा अस्पताल’को उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानमै स्वास्थ्य सेवा लिन पाउने सबै नागरिकको हक स्थापित गरिएकाले स्वास्थ्यमा सबैको पहुँच हुनुपर्ने उल्लेख गरिन्।

    राष्ट्रपति भण्डारीले राज्यले स्वास्थ्य र शिक्षामा विशेष जोड दिनुपर्ने बताइन्। स्थापित यस अस्पतालबाट स्थानीय नागरिकका साथै आन्तरिक र विदेशी पर्यटकलाई ठूलो मद्दत पुग्ने उनले बताइन्। अस्पताललाई आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा ध्यान दिन पनि उनले आग्रह गरिन्। यसका लागि स्थानीय तहको सहयोग जरूरी भएको राष्ट्रपति भण्डारीको भनाइ थियो।

    सामाजिक भावना राखी गाउँमै अस्पाताल खोलेर स्थानीयलाई निःशुल्क सेवा दिने काम सराहनीय भएको उनले सुनाईन् । नजिकै अन्य अस्पताल नहुँदा सुत्केरीले पाउने पीडा कम गर्न अस्पतालबाट सहयोग पुग्नेमा आफू आशावादी रहेको राष्ट्रपति भण्डारीको विश्वास छ । स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारलाई अस्पतालले प्रत्याभूति गरेको उल्लेख गर्दै उनले सरकार, निजी क्षेत्र र दातासित सहकार्य र समन्वय गरी अघि बढ्नुपर्ने सुझाव दिइन् ।

    सोलुखुम्बु पर्यटनको साङ्ग्रिला भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले यस क्षेत्रमा रहेका ठूला हिमाल, भौगोलिक बनावट, जैविक र प्राकृतिक विविधताको लाभ लिनुपर्ने बताइन्। पछिल्लो समय जलवायु परिवर्तनका कारण गगनचुम्बी सेता हिमाल काला पहाडमा परिणत भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले त्यसतर्फ सचेतना जरूरी रहेको उल्लेख गरिन्। सो अवसरमा अस्पतालका संस्थापक हिमालयन शेर्पा फाउण्डेशनका अध्यक्ष पर्यटन व्यवसायी फुर्वा ग्याल्जेन शेर्पाले अस्पताल स्थापना गर्नुको उद्देश्यबारे राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।

    स्थानीय र पर्यटकले उपचार अभावमा ज्यान गुमाउनु परेको अवस्थालाई ध्यानमा राख्दै अस्पताल स्थापना गरेको उनको भनाइ थियो। पर्यटक लेक लागेर बीचमै भ्रमण गर्ने इच्छा त्यागेर आफ्नो देश फर्किने गरेका तथा स्थानीय लेक लागेर ज्यानै गुमाउनुपर्दाको अवस्थाबारे उनले राष्ट्रपति भण्डारीसमक्ष अवगत गराएका थिए। बिरामीलाई घण्टौं टाढा लुक्ला अस्पताल लैजानुपर्दाको पीडाबाट प्रभावित भई अस्पताल स्थापना गरेको उनले बताए।

    पर्यटन व्यवसायी शेर्पा परिवारले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत खुम्बु पासाङल्हामु गाउँपालिकाको फाक्दिङमा सुविधायूक्त १५ शैय्याको अस्पताल निर्माण गरेको हो। यो अस्पताल निर्माण गर्न करिब २० करोड रुपैयाँ लगानी भएको हिमालय शेर्पा फाउन्डेसनकी उपाध्यक्ष कान्छी फुटी शेर्पाले जानकारी दिइन्। अस्पताल कोङ्दे हिमालको काखमा दुई हजार ६१० मिटर उचाइमा अवस्थित छ। सामाजिक क्षेत्रमा काम गर्नका लागि शेर्पा परिवारले फाउन्डेसन स्थापना गरेको हो। स्थानीयलाई निःशुल्क र विदेशीलाई सहुलियत शुल्क लिएर आजैदेखि उपचारको थालनी गरिएको संस्थापक शेर्पाले बताए।

    नाफा कमाउने उद्देश्यले नभई स्थानीयलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पताल खोलेको शेर्पाको भनाइ छ। अस्पताल सञ्चालन तथा व्यवस्थापन फाउन्डेसनले गर्नेछ। उपचारबाट आउने रकम फाउन्डेसनका नाममा रहने र सोही रकमबाट चिकित्सकलाई तलबसहित अन्य सेवासुविधा उपलब्ध गराइनेछ। यस अस्पतालमा अल्टिच्युड, फुड पोइजन, चोटपटक लागेका स्वदेशी तथा विदेशी पर्यटकको उपचार हुनेहुँदा यस क्षेत्रको पर्यटन पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। अहिलेसम्म यस क्षेत्रका बासिन्दा बिरामी पर्दा नाम्चे उक्लनुपर्ने वा लुक्ला झर्नुपर्ने बाध्यता थियो।

    जुलाई, २०१७ मा नै शिलान्यास गरिएको अस्पताल कोभिड–१९ का कारण निर्माणमा ढिलाइ भएको शेर्पाले बताए । जर्मनीका नागरिक डा. मथेस बाउमेनले रु पाँच करोड र अन्य दाताबाट थप रु दुई करोड सहयोग प्राप्त भएको संस्थापक शेर्पाले जानकारी दिए। हाल अस्पतालमा एक जना डाक्टर र तीन जना स्वास्थ्यकर्मी कार्यरत छन्।

    अस्पतालमा एक वर्षभित्र अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याइने योजना छ। त्यसका लागि ५० लाख रुपैयाँ रकम खर्च हुने बताइएको छ। एकातर्फ यहीँको अस्पताल टाढा रहेको भए पनि हिँडेरै जानुपर्ने र अर्कातर्फ मौसम खराबी हुँदा काठमाडौंसम्म बिरामीलाई लैजानसमेत समस्या भइरहेको थियो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend