काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धनले भूमि आयोगलाई बेकामे बनाएर थन्क्याएको बताएका छन्। विभिन्न दलबाट एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सुकुम्बासी समस्या समाधान गर्न एमाले सरकारले नै भूमि आयोग बनाएको तर गठबन्धनले बेकामे बनाएर थन्क्याएको बताएका हुन्।
उनले अब एमालेको सरकार बनेपछि भूमि आयोगको काम अघि बढाउने प्रतिबद्धता जनाए। काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार पोखरेलले आर्थिक विकास र समृद्धि तथा सुशासनका लागि एमालेले चुनाव जित्नुपर्ने स्पष्ट पारे।
पोखरेलले एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सातै वटा प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय भएको स्मरण गराए। पोखरेलले पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरेर तराई–मधेशका २० वटा जिल्लाका सदरमुकाममा सडक सञ्जाल पुर्याउने निर्णय गरेको बताए। दैलेखमा ग्यास खानी उत्खनन्का लागि चिनियाँ विशेषज्ञ ल्याएर अध्ययन सुरु गरेको, नवलपरासीमा फलाम उत्पादनको काम सुरु भएको पनि पोखरेलको भनाई छ। ‘एकै दिनमा १४ सय रणनीतिक महत्वका सडक शिलान्यास भयो। एकैदिनमा ३९६ वटा अस्पताल निर्माणको काम सुरु भयो।’ उनले भने,‘यो एमालेका नेता ओलीले गरेको हो। उहाँसँग देश बनाउने सपना छ।’
युवाहरु उत्पादनमुखी काममा लाग्नुपर्ने बताउँदै पोखरेलले रोजगारीका लागि उद्योगधन्दा खोल्नुपर्ने धारणा राखे।
देउवाले चुच्चे नक्सा मेटाएर बुच्चे नक्सा बनाए
अहिले गठबन्धन सरकारले केही काम गर्न नसकेको पोखरेलको आरोप छ। ओली प्रधानमन्त्री हुँदा भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउने प्रक्रिया सुरु भएको उल्लेख गर्दै उनले त्यसबेला सिङ्गो मुलुकलाई एकढिक्का बनाउने काम भएको बताए। तर अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा मेटाएर बुच्चे नक्सा बनाएको भन्दै निन्दा र भत्र्सना गरे। गठबन्धनका नेताहरुले चुच्चे नक्सा मेटाउन खोजेर देशद्रोही काम गरेको पोखरेलको आरोप छ।
पोखरेलले भने,‘हामीले भनेका छौँ, यो चुच्चे नक्सा बनाउनुको अर्थ के हो भने, हाम्रो जमिन खोसियो, अतिक्रमण भयो, छिमेकीले हेप्यो। अब छिमेकीले अतिक्रमण गरेका भूमि फिर्ता लिनुपर्छ भनेर एमालेले भन्यो।’
पोखरेलले नागरिकता सम्बन्धमा विचार नपुर्याउने हो भने देश सिक्किम बन्न सक्ने बताए। ‘उत्तरतिर चीन र दक्षिणतिर भारतले घेरेको छ। ति देशबाट दैनिक नेपाल आउने मान्छेलाई नागरिकता वितरण गर्न थालियो भने यो देश सिक्किम बन्छ। त्यसैले नागरिकता वितरणको कुरालाई ख्यालठट्टा गर्नु हुँदैन’ पोरखेलले भने।
एमालेले छिमेकीसँग झगडा नगर्ने तर देशको स्वाधिनता र स्वतन्त्रता अलिकति पनि कमजोर हुन नदिने अडान रहेको स्पष्ट पारे। देश बचाउनका लागि आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गर्नुपर्ने बताए।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न दलका नेता तथा कार्यकर्ता आज नेकपा एमालेका प्रवेश गरेका हुन्। उनीहरुलाई एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार पोखरेल र ५ (१) का प्रदेशसभा सदस्यका उम्मेदवार नारायण सिलवालले टिका लगाएर प्रवेश गराएका हुन्।
प्रदेशसभा सदस्यका उम्मेदवार सिलवालले मुलुकको अग्रगतिका लागि एमाले सधैँ अग्रसर रहेको बताए। २०७४ सालको निर्वाचनमा आफू निर्वाचित भएपछि विकास निर्माण र सम्पदा संरक्षणका क्षेत्रमा उल्लेख्य काम गरेको सिलवालले स्मरण गराए। आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बनाउने अभियानमा अघि बढेको सिलवालको भनाई छ। सूर्य चिन्हमा मतदान गरेर एमालेलाई विजयी गराउने अभियानमा लाग्न सिलवालले आग्रह गरेका छन्।