बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विष्णुप्रसाद पौडेलले विकास र समृद्धिका लागि आगामी मंसिर–४ को निर्वाचनबाट जनताले एमालेलाई सबैभन्दा ठुलो दल बनाउने बताएका छन् । रुपन्देही–२ का विभिन्न वडाहरूमा घरदैलो अभियानका क्रममा उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पौडेलले एमालेले विगतको निर्वाचनभन्दा फराकिलो मतान्तरले जित हासिल गर्ने दाबी गरे । रुपन्देही–२ मा मात्रै नभएर मुलुकभरि नै विजयी हुने गरी एमाले निर्वाचनमा होमिएको उनको भनाइ छ ।
पौडेलले जनताको शासक होइन सेवक भएर आफूले काम गर्ने समेत प्रतिबद्धता गरेका छन् । ‘जनताको साझा प्रतिनिधि भएर काम गर्ने छौँ । हिजो को कहाँ, कुन पार्टीमा भन्ने हुँदैन । सबै दल, जातजाति, भाषभाषीका जनतालाई सम्मान रूपले हामीले हेर्ने छौँ,’–पौडेलले भने, ‘कसैप्रति पूर्वाग्रह नराखी साझा मानसिकताका साथ हामी अघि बढ्ने हो । ’