काठमाडौं । नेकपा (माओवादी केन्द्र) की नेतृ ओनसरी घर्तीले गठबन्धनले जनतालाई समृद्ध बनाउने बताएकी छन् । शुक्रवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को घरदैलो कार्यक्रममा बोल्दै नेतृ घर्तीले गठबन्धनले जनताका आधारभूत विषयलाई सहज बनाउने, देश परिर्वतन र जनतालाई समृद्धि बनाउने एजेण्डा लिएर आएकाले गठबन्धनको जित सुनिश्चित रहेको बताएकी हुन् ।
उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको जित सुनिश्चित रहेको भन्दै मंसिर ४ गतेको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको दाबी गरिन् । उनले अहिले देशले समृद्धि,शान्ति, स्थिर सरकार, संविधान र अहिलेको व्यवस्थाको रक्षा खोजेको भन्दै त्यो गठबन्धले मात्रै पूरा गर्नसक्ने बताइन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बहुमतको सरकार फुटाएर तथा दुई पटक संसद विघटन गरेकाले गठबन्धन गर्ने बाध्यता भएको पनि बताइन् । घर्तीले अहिलेको गठबन्धन प्रतिगमनको बिरुद्धमा लागेकाले अहिलको व्यवस्था जोगाउन जनताले गठबन्धनलाई जिताउनुपर्ने आवश्यक्त रहेको बताइन् ।
उनले भनिन्,‘ देशले आज समृद्धि र शान्ति मागेको छ । देशले आज स्थिर सरकार, संविधान र व्यवस्थाको रक्षा मागेको छ । अहिलेको व्यवस्था नेपाली जनताले रगत र पसिना बगाएर बनाएको हो । केपी ओलीले आफ्नो बहुमतको सरकार पार्टी फुटाएर जनताले दिएको पाँच वर्षको बहुमतको सरकारलाई संसद विघटन गरी गठबन्धन गर्ने बाध्यता बनाउनुभएको हो । हामी प्रतिगमनको बिरुद्धमा गठबन्धन गरी हाम्रो व्यवस्थालाई जोगाउँदै जनताको समृद्धि गर्ने पक्षमा लागेका छौं । सम्पूर्ण काठमाडौं क्षेत्र नम्बर २ का जनताले गठबन्धनलाई भोट हाल्नुुस् नत्र केपी ओलीको प्रतिगमनले जित्छ । ओलीले जिते सबै व्यवस्था अस्तब्यस्त हुन्छ । उहाँले आफूलाई बहुमत दिनुस् भनेर हिँड्नु भएको छ रे । गठबन्धनले जनताका आधारभुत कुराको विकाश गर्ने एजेण्डा लिएर आएको छ । गठबन्धन देश परिर्वतन,जनताको समृद्धिको लागि जनताको घरदैलोमा आएका छौं । गठबन्धनको जित सुनिश्चित छ । जितको घोषणा हुन मंसिर ४ कुर्नुपर्ने भएकाले मंसिर ४ गते कुरेर बसेका छौं ।’
काठमाडौं क्षेत्र नम्बर २ का मतदाताहरु भने राजनीतिक दलहरुले गत ५ वर्षमा गरेको कामबाट सन्तुष्ट छैनन् । काठमाडौं क्षेत्र नम्बर २ का जनताले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधार गर्न आग्रह गरेका छन् । उनीहरुले खानेपानीको समस्या बढी रहेको भन्दै खानेपानी समस्या समाधान गर्नेलाई भोट दिने बताए ।