रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आसन्न निर्वाचन जितेर रुपन्देही जिल्लालाई भौतिक र मानविक विकासका दृष्टिकोणले देशकै नमूना बनाउने उद्घोष गरेका छन् । उनले जिल्लालाई विकासको नमूना र आर्थिक केन्द्र बनाउने प्रतिवद्धता जनाउँदै भने नेकपा एमालेले यसपटक प्रतिनिधि सभा र प्रदेश सभामा ठूलो जित दर्ता गर्ने छ ।
आसन्न निर्वाचनमा आफूले विगतको भन्दा ठूलो मतान्तरले विजयी बन्ने उनको दाबी छ । शनिवार रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा चुनावी घरदैलो कार्यक्रममा सहभागी बन्दै उनले यस्तो दाबी गरेका हुन् । उपाध्यक्ष पौडेलले आफूलाई यस वर्ष मतदाताहरुबाट विगतको भन्दा असाधारण साथ सहयोग रहेको उल्लेख गरे । उनले यस किसिमको समर्थन र सहयोग विगतका निर्वाचनमा बिरलै पाउने गरेको बताए ।
रुपन्देही क्षेत्र नम्बर २ बाट नेकपा एमालेका प्रतिनिधि सभा उम्मेदवारसमेत रहनुभएका नेता पौडेलले देशको विकास र समृद्धिको लागि आसन्न निर्वाचनमा एमालेले जत्नैपर्ने बताए । चुनाव नजिकिदै गर्दा पछिल्लो समय विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले चुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् ।