भक्तपुर । नेकपा एमालेको पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा भक्तपुरबाट एमालेलाई कम्तीमा पनि ६० हजार मत ल्याइ ऐतिहासिक जित निकाल्ने दावी गरेका छन्।
निर्वाचन परिचालन कमिटी भक्तपुर क्षेत्र नं १ ले बुधवार आयोजना गरेको क्षेत्रीय चुनावीसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै जनताले मंसिर ४ गते सूर्यमा भोट दिने र ६ गते रुखमा भोट दिने बताए।
प्रधानमन्त्री देउवाले केही समयअघि एक कार्यक्रममा मंसिर ४ मा हुने निर्वाचनलाई मंसिर ६ गते हुने भनी अभिव्यक्ति दिएका थिए। प्रधानमन्त्रीलाई निर्वाचनको मिति समेत जानकारी नहुने उल्लेख गर्दै नेता बस्नेतले मुलुक निर्माणको लागि एमालेका अध्यक्ष केपी ओलीजस्तो दुरदृष्टि भएको नेतालाई प्रधानमन्त्री बनाउनुपर्नेमा जोड दिए।
नागरिकता विधेयक, एमसिसी, एसपिपीजस्ता राष्ट्रघाती कार्य गर्ने गठबन्धन सरकार देश र जनताको पक्षमा नरहेको उल्लेख गर्दै उनले हिजो एमालेलाई प्रतिगमन भन्नेहरू राष्ट्रघाती रहेको तथ्य एकपछि अर्को गर्दै जनताले बुझ्दै गएको बताए।
जनताले मुलुकको हित चाहने हो भने एमालेमा भोट हाल्नुपर्ने नेता बस्नेतको भनाइ छ।
उनले भने, ‘आगामी निर्वाचनमा जनताले मुलुकको हित चाहने हो भने एमाले छान्नुपर्नेछ। मुलुकको बर्बादी छान्ने हो भने गठबन्धनलाई भोट हाल्नुपर्नेछ। त्यस्तै, आम नेपाली जनताले मुलुक बर्बादी गर्ने गठबन्धनलाई हैन, एमालेलाई भोट हाल्नु अपरिहार्य बनेको छ।’