logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

    उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

    2.2K
    Shares
    उपल्लो डोल्पामा हेलिकोप्टरबाट पठाइयो निर्वाचन सामग्री

    जाजरकोट । उपल्लो डोल्पाका १२ वटा मतदान केन्द्रमा हेलिकोप्टरबाट कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री पठाइएको छ । जिल्लामा ६८ मतदान केन्द्रमध्ये उपल्लो डोल्पाका १२ मतदान केन्द्रमा हेलिकोप्टरबाट सो सामग्री पठाइएको हो ।

    सदरमुकाम दुनैबाट पैदलमार्गमार्फत एक सातासम्म लाग्ने उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिकाका चारवटा मतदान केन्द्र, छार्काताङसोङ गाउँपालिकाको एक मतदान केन्द्र र शे–फोक्सुण्डो गाउँपालिकाका सातवटा मतदान केन्द्र गरी जम्मा १२ मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी सेनाको हेलिकोप्टरबाट पठाइएको मुख्य निर्वाचन अधिकृत बाबुराम सुवेदीले जानकारी दिए ।

    उनका अनुसार मतदान सकिएपछि पनि मतपत्र, निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी समेत हेलिकोप्टरबाटै ल्याइने व्यवस्था मिलाउन निर्वाचन आयोगसँग आग्रह गरिएको छ । भौगलिक विकटता र भारी हिमपातका कारण निर्वाचनको पूर्वतयारी गर्न समस्या देखिएपछि हेलिकोप्टरको प्रयोग थालिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उपल्लो क्षेत्रमा पर्ने २२ मतदान केन्द्रका लागि हेलिकोप्टरको माग गरिए पनि निर्वाचन आयोगले संवेदनशीलताका हिसाबमा १२ मतदान केन्द्रका लागि मात्र हेलिकोप्टर व्यवस्थापन गरेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताए ।

    बिहीबार शे–फोक्सुण्डोको वडा नम्बर–३, साल्दाङ मतदान केन्द्र र छार्काको एउटा मतदान केन्द्रमा दुई उडान हेलिकोप्टर प्रयोग गरी निर्वाचन सामग्री र कर्मचारी पठाइएको निर्वाचन कार्यालय डोल्पाले जनाएको छ । आज बिहानदेखि बाँकी १० वटा मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाइने निर्वाचन कार्यालय डोल्पाले जनाएको छ ।

    माथिल्लो डोल्पाका १२ मतदान केन्द्रबाहेकका अरू मतदान केन्द्रका लागि मतपत्रलगायत निर्वाचन सामग्री घोडाखच्चड र मानिसको पिठ्यँुमा बोकेरै मतदान केन्द्रतर्फ कर्मचारी जाँदै गरेको र केही पुगिसकेको जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend