काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आइतबार हुने निर्वाचनका लागि तयार गरिएका मतपत्रको आकार सानो भएकाले गणना सरल र सहजरुपमा हुने विश्वास गरिएको छ ।
स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको प्रकृति र आकार सानो भएकाले मत गणनामा अलमल नहुने काठमाडौँ जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए।
उनले भने, ‘हरेक निर्वाचन क्षेत्रअनुसार उम्मेदवार सङ्ख्याका आधारमा मतपत्र छपाई भएको छ, त्यसकारण यस पटकको मत गणना स्थानीय तहभन्दा सरल र सहज हुनेछ ।’
स्थानीय तहका लागि तयार गरिएको मतपत्रको आकार ठूलो थियो । निर्वाचन अधिकृतको कार्यालयले आयोगले अनुमान गरेको समयाधिभित्रै सम्पूर्ण नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ ।
उम्मेदवारको सङ्ख्या धेरै, एउटै मतपत्रमा सातवटा स्वस्तिक छाप लगाउन पर्ने भएकाले पनि त्यस बेला मतगणना लम्बिएको थियो । यस पटकको निर्वाचनमा बेग्लाबेग्लै चार प्रकारका मतपत्र रहेको र प्रत्येक मतपत्रमा एक–एक स्वस्तिक छाप मात्र लगाउन पर्ने भएकाले पनि गणनामा निकै सहजता हुने अपेक्षा गरिएको छ ।
आयोगले छिटो, छरितो र पारदर्शीरुपमा मतगणना गर्न कार्यका लागि व्यवस्था मिलाउन यसअघि नै निर्देशन दिइएको छ । मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन र भण्डारण गरिनेछ । त्यसपछि हुने सर्वदलीय र सर्वपक्षीय छलफलपछि सहमतिका आधारमा मतगणना प्रारम्भ हुनेछ ।