logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आज : २२ हजार २२७ मतदान केन्द्र तयार

    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आज : २२ हजार २२७ मतदान केन्द्र तयार

    1.8K
    Shares
    प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आज : २२ हजार २२७ मतदान केन्द्र तयार

    काठमाडौं । आज देशभर प्रतिनिधि र प्रदेशसभाको निर्वाचन हुँदै छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकिएको छ ।

    निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । उनीहरूले देशभरका १० हजार ८९२ मतदानस्थलमा रहेका २२ हजार २२७ मतदान केन्द्रबाट मतदान गर्दैछन् । यसैगरी १४१ अस्थायी मतदान केन्द्र र आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट करिब चार लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्नेछन् ।

    निर्वाचनमा प्रतिनिधिसभातर्फ प्रत्यक्षतर्फ दुई हजार ४१२ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । यसैगरी प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई हजार १९९ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रतिनिधसभामा प्रत्यक्षतर्फ १६५ जना पहिलो हुने निर्वाचित हुनेछन् । समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।

    प्रदेशसभातर्फ प्रत्यक्षतर्फ तीन हजार २२४ जना उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ तीन हजार ७०८ जना उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ । प्रदेशसभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

    यसरी आसन्न निर्वाचनमा प्रतिनिधि तथा प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि कुल पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ पाँच हजार ९०७ उमेदवारको नाम अन्तिम बन्दसूचीमा छ ।

    प्रत्यक्षतर्फ प्रतिनिधि र प्रदेशसभा गरी ४९५ सिटका लागि पाँच हजार ६३६ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

    निर्वाचन आयोगमा सूचीकृत मतदाताले मतदाता परिचय पत्र देखाएर मतदान गर्न सक्नेछन् । मतदाता परिचयपत्र नभएका तर नाम सूचीकृत भएका मतदाताले अन्य सरकारी कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend