चितवन । चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायमै राखेको छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् ।
लामो समयपछि लामिछानेले अग्रता लिंदा निरास बनेका मतदातामा खुशियाली छाएको छ ।
अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत प्राप्त गरे । गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले तीन हजार चार सय १० मत प्राप्त गरेका छन् ।
जिल्लाका तीनै निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो परिणाम अनुसार चितवन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल अग्रस्थानमा छन् । यस्तै क्षेत्र नम्बर ३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् ।