logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • यु–१९ क्रिकेट : लुम्बिनीले खाता खोल्दा वागमतीको दास्रो जित

    यु–१९ क्रिकेट : लुम्बिनीले खाता खोल्दा वागमतीको दास्रो जित

    4.8K
    Shares

    काठमाडौं । कर्णाली प्रदेशलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी प्रदेशले काठमाडौंमा जारी वाईवाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकाल्दा वागमती प्रदेशले लगातार तेस्रो खेलमा सुखद् नतिजा निकालेको छ ।

    कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले कर्णालीलाई पराजित गर्दै दोस्रो खेलबाट पहिलो जित निकाल्दा मुलपानीमा सम्पन्न अर्को खेलमा वागमती प्रदेशले मधेस प्रदेशमाथि १ सय ५२ रनको फराकिलो जित निकालेको हो । कर्णालीले दिएको १ सय १ रनको लक्ष्य लुम्बिनीले २०.५ ओभरमा ४ विकेट गुमाएर १ सय २ रन बनाएर पूरा गरी जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।

    लुम्बिनीको जितमा आकाश त्रिपाठीले अविजित ५२ रनको अर्धशतकीय इनिङ खेले । कप्तान विशाल विक्रम केसीले १३ तथा प्रज्वल थापाले १० रनको पारी खेले । यस्तै अन्य ब्याट्सम्यानले राम्रो स्कोर गर्न सकेनन् । बलिङतर्फ कर्णालीका अनुज चनाराले २ तथा सन्दीप शाही र मोहन विकले १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको कर्णालीले २२.२ ओभरमा सबै विकेट गुमाएर मात्र १०० रन बनाएको थियो ।

    कर्णालीका लागि कप्तान विपिन रावलले ३६ रन जोडे भने सुवास एयरले २३ रनको पारी खेले । अन्य ब्याटरले राम्रो खेल्न सकेनन् । कर्णालीको इनिङलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका विशालविक्रम केसीले ४ तथा अविशेक गौतमले २ विकेट लिए । पहिलो जितसँगै लुम्बिनीले २ खेलमा २ अंक जोडेको छ । उता कर्णालीले भने लगातार दोस्रो हार व्यहोरेको छ । प्रतियोगिता अन्तर्गत मुलपानीमा सम्पन्न खेलमा वागमतीले लगातार तेस्रो जित निकाल्दा मधेस प्रदेशलाई १ सय ५२ रनले पराजित गरेको हो ।

    वागमतीले ४७.३ ओभरमा सबै विकेट गुमाएर दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश २५.५ ओभरमा समेटिएको थियो । मधेशले ६५ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङ गरेको मधेस प्रदेशका लागि कप्तान अविशेक तिवारीले १८ रन तथा मयन
    यादवले ११ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकनन् । मधेसको इनिङलाई सस्तैमा समेट्ने क्रममा वागमतीका लागि अहमद राजा एक्लैले ५ तथा अभिशेक कोइरालाले ३ विकेट लिए । प्रतिक श्रेष्ठ र सक्रिय कार्कीले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको वागमतीले २ सय १७ रन बनाएको थियो । वागमतीका लागि उत्तम मगर र योगेश भाटले अर्धशतकीय इनिङ खेले । मगरले ९८ बलमा ७१ रन तथा भाटले ४० बलमा ५९ रन बनाएका थिए ।

    प्रतिक श्रेष्ठले ३० तथा रोशन विकले १४ रनको ईनिङ खेलेका थिए । मधेसका लागि राजेश यादवले ४ तथा अविजित मण्डलले ३ विकेट लिएका थिए । रञ्जित कुमारले २ तथा कप्तान अभिशेक तिवारीले १ विकेट लिएका थिए । अपराजित वागमती ६ अंकका साथ अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ ।

    पहिलो खेलमा पहिलो हार व्यहोरेको मधेस प्रदेश भने अंक विहीन रहँदै अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगितामा आईतवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा गण्डकी र सुदूरपश्चिम प्रदेश तथा मुलपानी मैदानमा कर्णाली र मधेश प्रदेशबीच
    प्रतिष्पर्धा हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend