logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

    रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

    2.1K
    Shares
    रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्दै किसान

    चितवन । चितवनको तामिन कुनैबेला सुन्तला उत्पादन राम्रो हुने ठाउँका रूपमा प्रख्यात थियो । इच्छाकामना गाउँपालिका–५ तामिनका किसानले एउटा याममै लखौँ रुपैयाँको सुन्तला बिक्री गर्थे । सुन्तला उत्पादनको पकेट क्षेत्रसमेत घोषणा गरेर केही वर्ष कृषि कार्यालयका कार्यक्रमसमेत यहाँ सञ्चालन भए । तर अहिले रोगका कारण यहाँ सुन्तलाका बोट मरेर सखाप भएका छन् । बर्सेनि उत्पादनमा ह्रास आएको छ ।

    तामिन क्षेत्रभित्र ८० बिघा क्षेत्रफलमा लगाइएको सुन्तलाका बोट मर्दै गएर १० बिघामा मात्रै बाँकी छ । तामिन कृषि सहकारीका अध्यक्ष हरिबहादुर नेपालका अनुसार यहाँ ७० प्रतिशत सुन्तलाका बोट मरेर सखाप भएका छन् । उनले २०७५ सालदेखि सुन्तलाको बोटमा रोग देखा पर्न थालेको बताए । विसं २०५० देखि यहाँका किसानले व्यावसायिकरूपमा सुन्तला खेती गर्दै आएका हुन् ।

    “विसं २०५७ देखि व्यावसायिकरूपमा सुन्तला बिक्री गर्न थालेका हौँ”, उनले भने, २०७५ सालसम्म उत्पादन र आम्दानी बढेको थियो, त्यसपछि क्रमशः बोट मर्न थाले ।” एउटा याममै रु १२ लाखको सुन्तला बेचेका नेपाल आफ्नो बारीमा अहिले एउटा पनि बोट नरहेको बताए । तामिनमा अब दुई सुन्तलाका बगैँचा मात्रै बाँकी छन् । अन्य सबै सखाप भएका छन् ।

    बोटमा टुप्पा सुक्ने र फेद कुहिने समस्या छ । एक हजार मिटरभन्दा तलको जमिनमा रहेका सुन्तलाको बोटमा यस्तो समस्या छ । तामिन सहकारीमा आवद्ध तामिन, ठङराङ, साठीमुरे, नेपेडाँडा, न्याङ्दीखोला, कमेरघाट, निबुवाडाँडाका कृषकले व्यावसायिकरूपमा सुन्तला खेती गर्दैआएका थिए । अहिले नेपेडाँडा र ठङराङका बगैँचामा मात्रै सुन्तलाका बोट बाँकी रहेको नेपालले बताए ।

    कृषि ज्ञान केन्द्रले अनुदानमा दिएको सुन्तलाको बेर्नामा पनि ठूलो बोटमा जस्तै रोग देखापरेपछि यहाँका किसानले नयाँ बोट लगाउन छाडेका छन् । तामिनका कृषक रामप्रसाद बोहोराले सुन्तलाको बोटमा लागेको रोगका कारण किसान चिन्तित बनेको बताए। “रोगले तामिनमा विगतका वर्षमा जस्तो सुन्तला नै छैन”, उनले भने । सुन्तलामा रोगले पात झर्दै गएका छन् । बोट सुक्दै गएका छन् ।

    सुन्तला मासेर तरकारी खेती
    तमिनका किसानले रोगले सुन्तला सखाप भएपछि तरकारी खेती गर्न थालेका छन् । किसानले मौसमी र बेमौसमी तरकारी उत्पादन गरेर बेच्न थालेको स्थानीय विश्वप्रकाश नेपालले बताए । करिब ५० किसानले व्यावसायिक सुन्तला खेती गर्ने गरेकामा सबैले तरकारी लगाउन थालेको उनले जानकारी दिएस् ।

    तरकारीको पकेट क्षेत्रसमेत सञ्चालन भएको उल्लेख गर्दै उहाँले कृषि ज्ञान केन्द्रबाट बीउ र कृषि औजारसमेत सहयोग प्राप्त भएको बताए । यहाँ किसानले टमाटर, काँक्रो, करेला, सिमी व्यावसायिकरूपमा लगाएका छन् । साउनदेखि मङ्सिरसम्म यहाँ तरकारी उत्पादन राम्रो हुन्छ । दैनिक ३० देखि ५० क्विन्टल तरकारी बजार पठाउने गरेको नेपालले बताए । उनका अनुसार तामिनमा उत्पादन भएको तरकारी सिधैँ मुग्लिन बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।

    फाइदा र सजिलो सुन्तला खेतीमै थियो । फल्न थालेपछि सुन्तलामा लगानी कम पर्छ । तरकारीको तुलनामा मेहेनत पनि कम हुन्छ । तरकारीमा प्रतिस्पर्धा धेरै छ । जोखिम बढी छ । तरकारीको तुलनामा फलफूलको उत्पादन र व्यापार स्थायित्व छ । उनले तामिनमा सिँचाइका लागि पानीको व्यवस्थापन हुन नसकेको बताए । “पानीका स्रोत छन् तर किसानका बारीसम्म लैजाने व्यवस्था गर्न सकिएको छैन”, उनले भने ।

    इच्छाकामना गाउँपालिकाका निवर्तमान कृषि अधिकृत आनन्दराज घिमिरेले तामिनमा किसानले सुन्तलाको व्यवस्थापनको पक्षमा ध्यान नदिँदा समस्या आएको बताए। उनले सुन्तलाको गोडमेल, काँटछाँट र मलजलमा ध्यान दिनुपर्ने भन्दै सुन्तलाको बोटको टुप्पा सुक्ने समस्या देशभर रहेको बताउँछन् । –रासस


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend