बनेपा । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकमा ३२ हजार चार सय ५५ मत बदर भएको छ । प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ गरेर तीन दशमलव सात प्रतिशत मत बदर भएको हो । कुल तीन लाख १० हजार ६३ मतदाता रहेको काभ्रेमा मंसिर ४ गतेको निर्वाचनमा एक लाख ८७ हजार तीन सय ३० जनाले मतदान गरेका थिए ।
जिल्ला निर्वाचन अधिकारी उमेशकुमार राईका अनुसार ८६ हजार चार सय ६२ महिला तथा एक लाख आठ हजार ६८ पुरुष मतदाता मतदानमा सहभागी भएका थिए । क्षेत्र नं १ मा कुल खसेको मतमा प्रत्यक्षतर्फ चार हजार चार सय २६ तथा समानुपातिकतर्फ तीन हजार सात सय २२ मत बदर भएको छ ।
क्षेत्र नं १ प्रदेशसभा १ मा प्रत्यक्षतर्फ एक हजार पाँच सय ८४, प्रदेशसभा २ मा प्रत्यक्षतर्फ एक हजार चार सय ६३ तथा प्रदेशसभा १ र २ मा समानुपातिकतर्फ चार हजार आठ सय ७२ मत बदर भएका थिए । क्षेत्र नं २ मा प्रत्यक्षतर्फ तीन हजार आठ सय ३७, समानुपातिकतर्फ तीन हजार नौ सय १३ तथा क्षेत्र नं २ को १ मा प्रत्यक्षतर्फ एक हजार चार सय ५१, क्षेत्र नं २ २ मा एक हजार सात सय ५१ तथा समानुपातिकतर्फ पाँच हजार चार सय २६ मत बदर भएका थिए ।
यसैबीच प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फको मतपरिणाम अनुसार काभ्रेपलाञ्चोकका ५० उम्मेदवारको जमानत जफत भएको छ । प्रत्यक्षतर्फ प्रतिनिधिसभा र प्रदेशसभा गरी जम्मा ६४ को उम्मेदवारी कायम भएको थियो । धरौटी जोगाउन नसक्ने उम्मेदवार ७८ प्रतिशत छन् ।