काठमाडौं । नेपाल स्काउटले आफ्नो स्वामित्वमा रहेको सम्पतीको निर्विवाद उपभोग गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । स्काउटले शुक्रवार पत्रकार सम्मेलन गरी आफ्नो स्वामित्वमा रहेको लैनचौरको जग्गा निर्विवाद उपभोग गर्ने वातावरण बनाइदिनका लागि सरकारसँग माग गरेको हो ।
स्काउटको नाममा लैनचौरमा रहेको ३ रोपनी जग्गा स्काउटले २०६५ सालमा खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.सँग १० वर्षका लागि करार सम्झौता गरी उपलब्ध गराएकोमा समय सकिएपछि पनि खाली नगराएकोले सो जग्गा खालि गर्नुपर्ने बताइएको छ । स्काउटले उच्च अदालत पाटनमा मुद्दा हालेपछि खड्काल्याण्ड डेभलपमेन्ट प्रा.लि.ले भोगचलन गर्दै आएको ३ रोपनी जग्गा र जबरजस्ती कब्जा गरेको करिब ७ रोपनी पार्किङ क्षेत्रमा खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.को कुनै हक दाबी नहुने फैसला आएको भएपनि हालसम्म सो जग्गा स्काउटको नियन्त्रणमा नआएको जनाइएको छ ।
नेपाल स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले आफूहरुले पटक–पटक सो जग्गा खाली गर्न भनेपनि अटेर गरिएको बताए । अदालतबाट मुद्दा जितेर आउँदा पनि जग्गा फिर्ता नगरी उल्टै आफूहरुमाथि पटक–पटक धाकधम्की दिइएको र कार्यालय समेत तोडफोड गरिएको उनले बताए । स्काउटले भाडाबापत पाउनुपर्ने १ करोड ९५ लाख १९ हजार १६६ रुपैयाँ पनि लिन बाँकी रहेको उल्लेख बताए । उनले बिहीवार नेपाल स्काउट केन्द्रिय कार्यालयको सुरक्षाको लागि बन्द गरिएको गेट प्रहरी प्रशासनको बलमा जबरजस्ती खोलेर तोडफोड भएको बताए ।
खड्काल्याण्ड डेभलपमेण्ट प्रा.लि.ले प्रहरी प्रशासनको समेत दुरुपयोग गर्दै नेपाल स्काउट माथि पटक–पटक आक्रमण गरिरहेको अध्यक्ष भण्डारीको भनाई छ । उनले स्काउटको सम्पती कब्जा गर्न खोजिएको भन्दै आफूहरुले कुनैपनि हालतमा त्यस्तो हुन नदिने बताए । उनले स्काउटमाथि ज्यादती हुँदा र अदातलको समेत अवहेलना हुँदापनि राज्य गम्भिर नभएको आरोप लगाए । उनले स्काउटको सम्पती फिर्ता गराउन सरकारसँग माग गरे ।