सिन्धुपाल्चोक । हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनरर्र्शिप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधरभूत विद्यालयका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।
सिन्धुपाल्चोकका पूर्वजिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको सदुपयोग गर्न आग्रह गरे । हेल्पले १० वर्षअघि ‘स्कुल इन अ ब्याग’ सुरु गरेको र हालसम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामग्री वितरण गरेको अध्यक्ष लामाले बताए ।
हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताए । सातकन्यामती माविका अध्यक्ष कालिका र कुम्भेश्वरी आधरभूत विद्यालयका प्रधानाध्यापक देवी पौडेलले सहयोगप्रति आभार प्रकट गरे ।
कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताए । विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ । संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ ।