काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले पार्टीका शीर्ष नेताहरुसँगको भेटघाट कुनै पद प्राप्तिका लागि नभएको बताएका छन् । नेता केसीले वर्तमान राजनीतिक वस्तुस्थितिको विषयमा आफूले पार्टी सभापति शेरबहादुर देउवा, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) लगायत दलका शीर्ष नेताहरुसँग भेट गरेको बताएका हुन् । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले अहिलेको राजनीतिक स्थिति चुनौतिपूर्ण रहेको भन्दै जनमानसमा आएका नकारात्मक धारणालाई कसरी समाधान गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा नेताहरुसँग भेट बढाएको बताउनु भयो । नेता केसीले स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोटका रुपमा नागरिकहरुले स्वतन्त्रहरुलाई भोट दिएको बताए ।
उनले भने, ‘अहिलेको वस्तुगत जुन खालको परिस्थिति छ । त्यसमा आउने यात्रा चुनौतिपूर्ण छ । जनमानसमा जुन एक किसिमको नकारात्मक धारणाहरु देखियो, सबै पार्टी र नेतृत्वले एउटा कुरा स्पष्ट रुपमा बुझ्न जरुरी छ कि, हाम्रा स्थापित पार्टीहरुको नेता, नेतृत्व,नीति र कार्यशैलीको बिरोधमा नो भोट जति स्वतन्त्रमा गएर थुप्रिएको हो भन्ने सहमति छ । अहिलेको वस्तुगत परिस्थितिको विश्लेषण गरौँ भनेर नै भेट गरिरहेको हो ।’
नेता केसीले अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ बाटो दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा आफूले असल सांसदको रुपमा आफूले काम गर्ने बताए । उनले मन्त्रीमा आफ्नो कुनै अपेक्षा नरहेको भन्दै कसैसँग कुनैपनि पद माग्न नजाने स्पष्ट पारे । उनले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बेलामा ठूलाठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३३ केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्मका कुरा गरेर ताली खाने काम गरेपनि आफ्नै सरकार र आफ्नै पार्टी सभापति हुँदा ठूला काण्डहरुको बारेमा छानबिन हुन नसकेको बताए । न्युज एजेन्सी नेपालीसँगको कुराकानीमा उनले पूर्व प्रधानन्याधीश वा अन्य कसैको संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई दिनुपर्ने आवश्यक्ता रहेको बताए । नेता केसीले यथास्थितिमा बसेर काम गर्न रहर नरहेको तर नयाँ सरकार र नयाँ पात्रहरुबाट देशका लागि केही गरौँ भन्ने किसिमको सरकार निर्माण भए देशका लागि केही योगदान गर्ने इच्छा रहेको बताए ।
उनले भने, ‘मेरो कुनै अपेक्षा छैन, अहिलेको परिस्थितिलाई नयाँ पन र नयाँ ड्राइभ दिनको निम्ति सत्य र विवेकको आवाज, भ्रष्टाचार बिरोधको आवाज, विधि विहीनता बिरोधको आवाज, सुशासन स्थापना गर्नको निम्ति संसदमा एउटा असल सांसदको रुपले मैले भुमिका निभाउँछु, त्यहाँमात्रै म अहिले प्रथम चरणमा सिमित हुनेछु । कसैसँग केही माग्न जाने पक्षमा छैन । म मन्त्री ४÷५ पटक भइसकेँ त्यही मन्त्री हुने रहर छैन । मलाई आजको जुन व्यथिति छ, त्यसलाई थिति कायम गर्न सानो योगदान दिने, यो व्यवस्थाले परिलक्षित गरेको अवस्था छ, त्यो अवस्था सिर्जना हुन नसक्नुमा त्यो अवस्था सिर्जनाका निम्ति अवसर सिर्जना गर्ने, यति ठूला ठूला भ्रष्टाचारका काण्डहरु भए, मैले दुई,चार महिना अघिमात्रै पनि वाइडबडी काण्डदेखि ३० केजी सुनसम्म ओम्नी, यति प्रकरणदेखि बुढीगण्डकीसम्म हामीले ओलीजीको सरकार हुँदा त ठूलो भाषण गरेर ताली खायाँै । हाम्रै सरकार हुँदा पूर्व प्रधानन्याधीश कसैको अध्यक्षतामा, संयोजकत्वमा निष्पक्ष जाँचबुझ आयोग गठन गरेर वास्तविकता जनतालाई किन नदिने ? त्यो काम मेरो प्रधानमन्त्री, सभापतिले गरोस् भनेर लिखित प्रश्ताव पेस गरेको छु । त्यतातिर मेरो अभियान केन्द्रित भएको छ । परिस्थितिले धकेल्दा कता पुगिन्छ, मैले कसैसँग कुनै इच्छा लिएर भेटघाट गरेको छैन । नयाँ सरकार आए देशलाई केही योगदान दिन मन छ, तर यथास्थितिमा बसेर जनताका नकारात्मक सोचहरु आफूमाथि थुपार्ने सोच छैन ।’