काठमाडौं । काठमाडौं क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले काठमाडौंको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताएकी छन् । बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य गौतमले काठमाडौं महानगरपालिकाले आफ्नो मौलिकता गुमाउँदै गइरहेको बताइन् ।
उनले महानगरपालिकाले गुमाएको मौलिकतालाई पुनःजीवित गर्नुपर्ने बताइन् । यसको निम्ति आफूले सकेको भुमिका निभाउने उनको भनाई छ । उनले भनिन्– ‘काठमाडौं महानगरपालिकाले कति कुराहरु कमाएको छ । कति कुराहरु गुमाएको छ । कति मौलिकताहरु गुमाएको छ । तर ति मौलिकताहरुलाई अब पुनःजीवित गर्नको निम्ति काठमाडौं महानगरपालिकाले हामीले देखिरहेका छौँ । विभिन्न प्रयासहरु गरिरहेको छ । ति पुनःजीवित गर्ने प्रयासहरुमा तपाई हामी सबैजनाले आ–आफ्नो क्षेत्रबाट साथ पनि दिइरहेका छौँ ।’
उनले अगाडि भनिन् ‘आगामी दिनबाट हाम्रो तर्फबाट र मेरो तर्फबाट व्यक्तिगत रुपमा मैले आफूले गर्नुपर्ने कुराहरुमा महानगरपालिका लगायत नेपाललाई नै एउटा गति दिनको निम्ति हाम्रो मौलिकतालाई एउटा पुनर्जिवित गर्नको निम्ति र मौलिकता सँगसँगै एउटा आधुनिक नेपाल विकसित गर्नको निम्ति हाम्रो जे जति भुमिका हुनसक्छ, मेरो जे जति भुमिका हुनसक्छ । त्यसमा म सकारात्मक छु भन्ने कुरा यहाँबाट व्यक्त गर्न चाहन्छु ।’ उनले देशलाई गति दिनका निम्ति महानगरपालिका सँगसँगै सिंगो देशकै मौलिकतालाई पुनःजीवित गर्नुपर्नेमा जोड दिइन् ।