काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताएका छन् ।
बिहीवार काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले महानगरपालिकाले काठमाडौं उपत्यकाभित्र डबली सभ्यतालाई पुनःजागरण गर्न लागेको बताए ।
उनले उपत्यका भित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने जानकारी दिए । उनले काठमाडौं उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिए । प्रमुख साहले संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने बताए । उनले मौलिक बाजाहरुलाई अभिलेखिकरण गर्दै नयाँ पुस्ताहरुलाई पनि सिकाउँदै जानुपर्ने बताए ।
उनले भने – ‘काठमाडौं महानगरपालिकाले यो सात दिन सप्ताहव्यापी काठमाडौं महानगरपालिकाको उत्सव मनाउँदै गर्दाखेरी विभिन्न कुराहरुलाई एउटा सिम्बोलको रुपमा देखाउन चाहेको छ । उदाहरणको रुपमा हामीले हाम्रो डबली सभ्यतालाई पुनःजागरण गर्नुपर्छ भन्ने कुरा अस्ति पशुपतिमा गर्दै जाँदाखेरी, उपत्यकाभरी र काठमाडौं महानगरपालिकाभरी विभिन्न स्थानहरुमा डबलीहरु रहेका छन् । जसको प्रयोजन सांगितिक कार्यक्रमदेखि लिएर नाटक मञ्चन सबैका लागि हुने गर्दथ्यो । त्यसलाई फेरि पुनःस्थापना गर्न सकिन्छ ।’
प्रमुख साहले काठमाडौं महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न शुरु गरिएको जानकारी दिए । उनले शिक्षा, स्वास्थ्य र पूर्वाधार लगायतका क्षेत्रमा छिमेकी पालिकाहरु र सबै तहको सरकारहरुसँग सहकार्य गर्दै अगाडि बढेको बताए । उनले काठमाडौं महानगरलाई सांस्कृतिक शहर बनाउने सपना पूरा गरेरै छोड्ने अठोट गरे ।