logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

    विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

    1.6K
    Shares
    विद्यालयको छाना कमजोर हालेपछि अख्तियारमा उजुरी

    बलेवा । भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्थाले विद्यालयको छानामा कमजोर सामग्री प्रयोग गरेको आरोपमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।

    बागलुङ नगरपालिका–७ को गौरीशङ्कर प्राविमा छाना छाउने क्रममा कमजोर गुणस्तरको सामग्री प्रयोग भएको तथ्य विद्यालय व्यवस्थापन समिति र सरोकारवाला सङ्घसंस्थाले गरेको अनुगमनबाट पत्ता लागेको बताइएको छ । यसपछि सो संस्था र स्थानीयवासीले अख्तियारमा उजुरी गरेका हुन् । भवन निर्माणमा लगानी गरेको संस्थाका प्रमुख मतिलाल चपाई र निर्माण सामग्री सप्लायर्स गर्ने लुम्बिनी इन्जिनियरिङ वर्कसपविरुद्ध उजुरी गरिएको संस्थाका अध्यक्ष तथा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

    उजुरी दर्ता गर्दा श्रेष्ठले छानामा परेको प्वाल, सोसम्बन्धी सञ्चारमाध्यममा प्रकाशित समाचारकपी र अन्य कागजातसमेत संलग्न गरेका छन् । गत साउनमा उक्त विद्यालयमा भ्वाङ परेको समाचार प्रकाशित थियो । यो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको शिक्षा शाखाले बनाएको हो ।

    यो भवनमा युपिभिसी जस्तापाताले छाना छाइएको छ । छानामा प्वालैप्वाल परेकाले विद्यार्थी राखेर पढाउनसमेत नसकी बर्सातमा बालबालिकालाई एकै स्थानमा दुईदुईवटा कक्षा सञ्चालन गर्नुपरेको थियो ।

    सप्लायर्स कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेको आरोप लगाइएको छ । उजुरीमा शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सप्लायर्स कम्पनी लुम्बिनी इन्जिनियरिङ वर्कसलाई दोषी बनाइएको हो । विद्यालय व्यवस्थापन समितिलाई दबाबमा पारेर आयोजना र कम्पनीले गुणस्तरहीन सामग्री प्रयोग गरेका थिए । विद्यालयको दुईकोठे भवनको छानामा गुणस्तरहीन जस्तापाता प्रयोग गर्दा सयौँ भ्वाङ परेको थियो । विद्यालयको छानामा सयौँ प्वालहरू परेको अनुगमनबाट पनि पुष्टि भएको बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले बताए । विद्यालयमा बिजोग भएको देखेपछि मर्मतका लागि नगरपालिकाले सहयोग गर्ने तयारी भएको सापकोटाले जानकारी दिए ।

    असिना पर्दा गत वर्षको चैतवैशाखमा यो विद्यालयमा भ्वाङ परेको वडा अध्यक्ष मेघनाथ गैरेले बताउनुभयो । पानी पर्दासमेत ती भ्वाङ थपिँदै गएको स्थानीयले बताए । भवनमा प्वाल परेपछि वडाअध्यक्ष गैरेले विद्यालयको अवस्था अनुगमन गरेर पुनःनिर्माण गर्न नगरपालिकामा बजेट माग गरेको बताए ।

    पुनःनिर्माण प्राधिकरणमार्फत जिल्लामा पुनःनिर्माण गरिएका विद्यालयको परियोजना हेर्ने शिक्षा शाखाका तत्कालीन प्रमुख मतिलाल चपाई र सब इन्जिनियर नजाम उद्दिनले लुम्बिनी इन्जिनियरिङ वर्कशपबाट सामान ल्याउन दबाब दिएपछि गुणस्तरहीन सामान आएको थियो ।

    सोही दबाबकै कारण बागलुङका सप्लायर्सले सात लाखमा सामान विद्यालयमै लगिदिने भन्दाभन्दै विद्यालयले बुटवलस्थित लुम्बिनी इन्जिनियरिङ वर्कशपबाट रु १० लाख ५० हजारमा सामान ल्याउन बाध्य बनाएको उजुरीमा उल्लेख छ । विद्यालयकी प्रअ सरिता गौतमले पनि दबाबका कारण उनीहरूले भनेको सप्लायर्सबाट सामान ल्याउन बाध्य भएको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend