logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

    रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

    1.7K
    Shares
    रामपुरमा अव्यवस्थित जग्गाधनीलाई पुर्जा वितरण सुरू

    रामपुर । अव्यवस्थित रूपमा बसेका पाल्पाको रामपुरबासीलाई जग्गाधनी पुर्जा वितरण सुरू गरिएको छ। लामो समयसम्म तत्कालीन गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गामा बसोबास गर्दै आएका यहाँका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेका हुन्।

    राष्ट्रिय भूमि आयोगले २०२८/२९ देखि रसिदमा जग्गा किनेर भोगचलन गर्दै आएका अव्यवस्थित बसोबास गरेकालाई करिब पाँच दशकपछि जग्गाधनी पुर्जा उपलब्ध गराएको छ।

    लामो समयदेखि पुर्जाको प्रतीक्षामा रहेका अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा शुक्रबारदेखि पुर्जा वितरण कार्य सुरू गरेको छ।

    पहिलो चरणमा तीन सय ७७ घरघडेरीको राजस्व तिर्ने प्रक्रियामा पुगे पनि तीन सय एकको सर्जमिन भएको राष्ट्रिय भूमि आयोग जिल्ला समितिका अध्यक्ष मोहनलाल गैरेले बताए।

    उनले सर्जमिन भएकामध्ये दुई सय बढीले राजस्व बुझाएको, एक सय ७३ को फोटो टाँस्ने काम सकिएको छ भने एक सय तीन जग्गाधनीलाई पुर्जा वितरण गरिएको छ।

    उनका अनुसार प्रक्रिया पूरा भएका सबैको क्रमशः वितरण हुने र गठबन्धन सरकार यथावत् रहेमा अबको आठ महिनाभित्र अव्यवस्थित बसोबासीलाई पुर्जा वितरण कार्य सम्पन्न गरिनेछ।

    राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले जग्गाधनी पुर्जा वितरण गर्दै भूमिको समस्या समाधान आयोग र स्थानीय सरकार मिलेर मात्र सम्भव रहेको बताए।

    आयोगले आफ्नो भूमिका नखोजी स्थानीय सरकारसँगै हातेमालो गरेर अघि बढेको उनले जानकारी गराए।

    रामपुर गाउँ पञ्चायतले पूर्वाधार निर्माण तथा सामाजिक कार्यका लागि र हालको रामतुलसी मावि, दरैठाँटी मावि, आधारभूत मावि, नवदुर्गा मावि लगायतका विद्यालयले विद्यालय सञ्चालन गर्न तत्कालीन समयमा बिक्री गरेको जग्गामा बसोबास हुँदै आएको हो।

    विसं २०५५ सम्ममा बिक्री वितरण भएका रामपुर–५, ६ र ७ का सात सय ८३ घडेरीमध्ये पहिलो चरणमा एक सय तीन जनालाई पुर्जा वितरण गरिएको हो।

    लामो समयसम्म समस्याका रूपमा रहेको अव्यवस्थित घरघडेरीलाई जग्गाधनी पुर्जा दिलाउन सफल भएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए। प्रक्रियामा रहेका सबैलाई जग्गाधनी पुर्जा उपलब्ध गराइने नगरप्रमुख थापा बताउँछन‍्।

    वर्षौंदेखि पुर्जाविहीन बनेका स्थानीय पुर्जा वितरणसँगै खुसी भएका छन्। रामपुरको मुख्य बजार, बेझाँड बजार, किसानबारी, विजयपुर, तिलकपुर क्षेत्रमा गाउँ पञ्चायत, वडा तथा विद्यालयले बिक्री गरेको जग्गा पाँच दशकदेखि स्थानीयले रसिदको भरमा भोगचलन गर्दै आइरहेका थिए। लामो समयको पर्खाइपश्चात् जग्गाधनी पुर्जा प्राप्त गर्न पाउँदा खुसी लागेको स्थानीय विन्दु श्रेष्ठले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend