logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ

    नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ

    1.7K
    Shares
    नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ

    भक्तपुर । आज अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले भरिभराउ हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित भएका छन् ।

    कोरोना भाइरस सङ्क्रमणका कारण झण्डै तीन वर्ष नोक्सान ब्यहोर्नु परेका कारण यहाँका पर्यटन व्यवसायी आन्तरिक पर्यटककै चाप थेगिनसक्नु भएपछि व्यवसायी उत्साहित भएका हुन् ।

    अंग्रेजी नयाँवर्ष, २०२३ को आगमनले भक्तपुरका पर्यटकीय स्थलदेखि होटलसम्म आन्तरिक पर्यटकले भरिएका छन् । भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोटमा नयाँवर्षको पहिलो सूर्योदयलाई स्वागत गर्न स्वदेशी तथा विदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।

    बेलुका बास बसेर आज बिहान सूर्योदयसँगै हिमाली दृश्य अवलोकन गर्न पर्यटकको नगरकोटमा बाक्लो उपस्थिति थियो । हरेक वर्ष विदेशी पर्यटकले भरिने यहाँका पर्यटकीय क्षेत्र कोरोना महामारी र नगरकोट जाने सडकको जीर्ण अवस्थाका कारण पर्यटन व्यवसाय ओरालो लागे पनि नयाँ वर्षमा भने उमङ्ग थपेको पर्यटन तथा होटल व्यवसायी अशोक थापाले जानकारी दिए ।

    नगरकोट बेस क्याम्प रिसोर्टका सञ्चालकसमेत रहेका थापाले भने, ‘विदेशी पर्यटकको चाप घटेको छ, स्वदेशी पर्यटकको चाप निकै बढेको छ, अङ्ग्रेजी नयाँ वर्षमा पनि ३० प्रतिशत मात्रै विदेशी पर्यटक आए, ७० प्रतिशत स्वदेशी पर्यटकले यहाँका होटल भरिएका छन् ।’

    यहाँका सीमित होटलमा मात्रै विदेशी पर्यटक जाने गरेको र अन्य होटल स्वदेशी पर्यटककै भरमा रहनुपरेको व्यवसायी बताउँछन् । सामान्यदेखि चार स्टारसम्मका होटल रहेको नगरकोटमा नयाँ वर्षमा स्वदेशी पर्यटकको चाप बढेपछि कोठा पाउन मुस्किल परेको व्यवसायीले बताएका छन् ।

    चिसो रातमा पनि नयाँ वर्षको स्वागत र सूर्योदयको मजा लिन यहाँ पर्यटकको आगमन बढ्दा व्यवसायी उत्साहित भएका छन् । कोभिड–१९ को सङ्क्रमणले रित्तिएका यहाँका होटलमा नयाँ वर्ष २०७८ देखि चहलपहल भए पनि अङ्ग्रेजी नयाँवर्ष २०२३ को आगमनसम्म आइपुग्दा विदेशी भन्दा स्वदेशी पर्यटकको आगमनले नगरकोट होटल भरिएको होटल मेरिगोल्ड नगरकोटका सञ्चालक गोकुल लामिछाने बताए ।

    ‘मैले होटल क्षेत्रमा काम गरेको २२ वर्ष बढी भयो तर कोरोनाले होटल सुनसान भएको पहिलो पटक थियो, अब त उठ्न सकिँदैन कि भन्ने लागको थियो तर नेपाली र अङ्ग्रेजी नयाँ वर्षमा एक महिनाअघिदेखि सबै होटल बुक हुन थालेपछि र स्वदेशी पर्यटकको आगमन बढेपछि अब उत्साह थपिएको छ ।’

    चाँगुनारायण नगरपालिका–६ नगरकोटका वडाध्यक्ष एवं नगरकोट नाल्दुम पर्यटन व्यवसायी सङ्घका पूर्व सचिव धनबहादुर लामाले नयाँ वर्ष २०२३ लाई स्वागत गर्न आन्तरिक पर्यटकको नगरकोटमा ओइरो लागेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend