logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

    हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

    2.5K
    Shares
    हात्तीबाट बस्ती जोगाउन विद्युतीय घेराबार

    झापा । जङ्गली हात्तीको आक्रमण रोक्न जिल्लामा अहिलेसम्म ६० किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको र थप सन्ताउन्न किलोमिटर घेराबारको योजना अघि बढाइएको छ । भारतको पश्चिम बङ्गालबाट सयौँको बथानमा आउने र स्थानीय जङ्गलमा बस्ने दर्जनौ रैथाने हात्तीका कारण जिल्लामा ठूलो जनधनको क्षति हुन थालेपछि घेराबारको उपाय प्रयोगमा ल्याइएको हो ।

    एक दशकअघि सबैभन्दा पहिला तत्कालीन बाहुनडाँगी गाउँविकास समितिको भारतसँग सीमा जोडिएको मेची नदीको किनारमा १८ किलोमिटर लामो सौर्य विद्युतीय घेराबार लगाइएको थियो ।’उतिबेला निर्माण गरिएको विद्युतीय बारलाई मर्मत गर्दै अहिलेसम्म प्रयोगमा ल्याइएको छ,’ मेचीनगर वडा नं ४ का वडाध्यक्ष अर्जुन कार्कीले भने–’ब्याट्री डाउन भएको र तार बिग्रिएको रहेछ भने मात्र हात्ती बार नाघेर आउँछ, नभए करेन्ट लाग्ने डरले गाउँतिर पस्दैन ।’

    सीमा जोडिएका कारण भारतबाट आउने हात्तीको बथान पहिला बाहुनडाँगीमै पस्ने प्रयास गर्छ । सबैभन्दा बढी जङ्गली हात्तीले जनधनको क्षति पु¥याएको क्षेत्र पनि बाहुनडाँगी नै हो ।

    मेचीनगर वडा नं १ को तिरिङदेखि वडा नं ६ को नकलबन्दासम्मको १८ किलोमिटर लामो पहिलो चरणको विद्युतीय घेराबारका कारण भारतबाट हात्ती पस्ने क्रम रोकिँदा बाहुनडाँगीवासीले राहत महसुस गरेका छन् । जिल्लामा मानव–हात्तीद्वन्द्व न्यूनीकरण र जनधनको क्षति रोक्न दोस्रो चरणमा दक्षिणी कचनकबल, हल्दिबारी र भद्रपुरमा ४२ किलोमिटर घेराबार बनाइसकिएको छ । अब तेस्रो चरणमा ५७ किलोमिटर घेराबारको परियोजना कार्यान्वयनमा ल्याइएको छ ।

    दक्षिणी झापाको जलथल र निचाझोडा जङ्गलबाट निस्कने हात्तीले कचनकबल, भद्रपुर र हल्दिबारीको मानव बस्तीमा क्षति पुर्‍याउँदै आएका छन् । दुई वर्षअघि त्यहाँ तारबार गरिएपछि क्षति न्यूनीकरण भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।

    तेस्रो चरणको कार्यक्रमका लागि नेपाल सरकारले वन मन्त्रालयमार्फत तीन करोड बजेट विनियोजन भएको छ । जङ्गली हात्तीको आक्रमणबाट मानव बस्ती जोगाउने सबैभन्दा भरपर्दो उपायको रुपमा सौर्य विद्युतीय घेराबर मानिएकोछ ।

    अहिलेको बजेटबाट भद्रपुर र मेचीनगर नगरपालिकाको सीमा क्षेत्रको हातेमालो सामुदायिक बनमा दुई किलोमिटर काम सम्पन्न भइसकेको छ । नेपाली सेनाको चारआलीस्थित व्यारेक क्षेत्र र मेचीनगरको प्रगति, कालिका, बाँसबारी, मागुरमाडीलगायत सामुदायिक वन क्षेत्रमा घेराबारको कामा धमाधम अघि बढाइएको छ।

    चारआली जङ्गलको मेचीनगर वडा नं १४ को सीमादेखि १३ मा रहेको सैनिक ब्यारेक फन्को मार्दा छ किलोमिटर घेराबार हुने र बाँकी नौ किलोमिटर पूर्व–पश्चिम राजमार्गको उत्तरी भागको वडा नं ९, ११ र १२ मा रहेका सामुदायिक वनमा काम गरिने छ । क्रमागतरुपमा बर्सेनि बजेट आउने भएकाले ५७ किलोमिटरमध्ये अर्को बजेटमा बाँकी ४२ किलोमिटर घेराबार थप्दै जाने योजना छ ।

    झापामा चारआली (निचाझोडा) र जलथल नामका दुई ठूला प्राकृतिक जङ्गल छन् भने दर्जनौँको सङ्ख्यामा सामुदायिक वन रहेका छन् । जङ्गलको बाहिरी भागमा पर्यटकीय स्थल, मानव बस्ती, सैनिक ब्यारेक आदिलाई जोगाउने उद्देश्यले घेराबर भइरहेको छ । परियोजनालाई स्थानीय पालिकाले भरपुर सहयोग पुर्‍याएका छन् ।

    अहिलेको १५ किलोमिटरको घेराबार मेचीनगर क्षेत्रमा गर्ने भनी सरकारी निकायबाटै निर्देशन आएको बताइएको छ । अरु पालिकामासमेत हात्तीको आक्रमणबाट जनधनको क्षति हुने क्रम बढेका कारण जिल्लाको सबै क्षेत्रमा सौर्य विद्युतीय घेराबारका लागि माग हुँदै आएको छ ।

    घेराबारका लागि १५ किलोमिटरमा  २० लाख खर्च हुने अनुमान गरिएको कोषले जनाएको छ । भद्रपुर नगरपालिका–९ मा करिब चार किलोमिटर क्षेत्रमा स्थानीय चन्द्रगढी सामुदायिक वन उपभोक्त समिति आफैले विद्युतीय बार लगाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend