काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले भ्रष्टाचार र अपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दवाव र प्रभाव पार्ने काम आफूलाई नगर्न पनि आग्रह गरे ।
उनले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे । वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पु¥याउने उनको भनाई थियो ।
उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको बताए । सरकार गठनका बेला सत्तासाझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिवद्धताबाट आफूहरु हौसिएको उल्लेख गर्दै त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उनको भनाई थियो ।
मन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढता समेत व्यक्त गरे । उपप्रधानमन्त्री लामिछानेले जनमतलाई सम्मान गरेर आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए । जनमत अनुसार सरकार बनेको र जनताको अपेक्षा अनुसार काम हुने गरी सरकारले केही दिनमै साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाई थियो ।
मन्त्री लामिछानेले जनमतको सम्मान गर्दै आफूहरु सरकारमा गएको र जनतासँग गरिएको बाचा पूरा गर्न लागि पर्ने उनको भनाई छ । उपप्रधानमन्त्री लामिछानेले जनताको चाहना अनुसार सरकारलाई अघि बढाउन रचनात्मक सुझाव दिन प्रतिपक्ष दलहरुलाई पनि आग्रह गरे ।