काठमाडौं । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा एक मत नभएपछि कांग्रेसले कार्य सम्पादन समितिमा पनि छलफल गरेको थियो । सोहि छलफलबाट प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
कांग्रेसको यो निर्णयलाई कुर्दै प्रतिनिधि सभाको बैठक पनि १ बजेसम्मलाई सारिएको छ । त्यसअघि प्रतिनिधि सभा बैठक ११ बजे बस्ने तय भएको थियो ।
बैठकमा सभापति देउवासँगै संस्थापन पक्षका सबै नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले भने विश्वासको मत नदिने र पार्टी प्रतिपक्षमा बस्नुपर्ने मत राखेका थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिने भएको छ ।
लोसपाका सांसद शरत सिंह भण्डारीका अनुसार विश्वासको मत लिएर प्रतिपक्षमा बस्ने निर्णय अध्यक्ष महन्थ ठाकुरले सुनाएका हुन् ।