logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • योगेशको ब्यङ्ग्य– देउवाको विश्वासको मतमा पनि ज्योतिष प्रभाव हो कि !

    योगेशको ब्यङ्ग्य– देउवाको विश्वासको मतमा पनि ज्योतिष प्रभाव हो कि !

    1.3K
    Shares
    योगेशको ब्यङ्ग्य– देउवाको विश्वासको मतमा पनि ज्योतिष प्रभाव हो कि !

    काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कांग्रेसको हठात् निर्णय ‘गलत नियतले’ आएको आशंका गरेका छन् । कांग्रेसका पछिल्ला गतिविधि शंकास्पद रहेको भन्दै सुनौलो नेपालसँगको भिडियो अन्तर्वार्तामा एमाले युवा नेता भट्टराईले कांग्रेस मुलुकलाई अस्थिरतातर्फ लैजाने मुख्य शक्ति हुन खोजेको आरोप लगाए ।

    ‘पुस १० गते हामीले १६९ जना सांसदको समर्थनमा प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका थियौं । कांग्रेसले पनि प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेको छ । त्यस अर्थमा हामी बेखुशी हुने कुरा छैन । हाम्रो अध्यक्ष केपी ओलीले पनि संसदमा गम्भीर कुरा उठाउनु भएको छ । यदि सा“च्चै नेपाली कांग्रेसले यसमा सदासयता पूर्वक हिजोको कांग्रेसको नेतृत्वको गठबन्धन गलत थियो र अब अहिले नेकपा एमाले ससम्मिलित जुन नयाँ समिकरण बनेको छ यो समिकरण ठिक छ । मुलुकको पनि हितमा छ भनेर सदासयतापूर्वक आफूलाई उभ्याएको हो भने त्यो मुलुकका लागि सुस्खद कुरा हो,’ उनले भने, ‘होइन हाम्रो अध्यक्षले संसदमा उठाएको जस्तै केही चलखेल गर्न पाइन्छ कि रु अहिलेको समिकरणभित्र औँला घुसारेर त्यसबाट केही बनाउन सकिन्छ कि भन्ने सोचाइबाट नेपाली कांग्रेस जान खोजेको हो भने यो मुलुकको अस्थिरताको मुख्य कारक नेपाली कांग्रेस हुन्छ ।’

    माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने मुख्य भूमिका नेकपा एमालेको नै भएको भट्टराईको भनाइ छ । माओवादी अध्यक्ष प्रचण्ड संविधानको धारा ७६ को २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त भए पनि संविधानको धारा ७६ को ४ अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत पाएको उनले बताए ।

    ‘प्रधानमन्त्री प्रचण्डले विश्वासको मत माग्नु भो उहाँहरुले दिनु भो । त्यसका पछाडि कुनै शर्तबन्धन छ भन्ने मलाई लाग्दैन । कहिँ प्रचण्ड र शेरबहादुरकोबीचमा त्यस्तो कुनै कुरा भएको होला भन्ने पनि मलाई लाग्दैन । तर, नेपाली कांग्रेसले जोखाना हेरेको होला,’ उनले भने, ‘शेरबहादुर देउवाजी बढी ज्योतिषमा विश्वास गर्नुहुन्छ । ज्योतिषले सायद केही भन्यो कि ? अहिले विश्वासको मत दिनुस् । केही महिनापछि तपाई फेरि फर्कनुहुन्छ । आउनुहुन्छ । प्रचण्डलाई नचिडाउनुस् । भनेर कतै ज्योतिषले भन्यो कि ? अहिलेको ग्रह दशा त्यस्तै छ भनेर भन्यो कि ? तर म यति कुरा भन्न चाहन्छु कि हिजो पनि हाम्रो अध्यक्षले भन्नुभएको छ माछा बिनाको नदीमा जाल हानेर माछा आउँदैन । त्यसकारण यो गठबन्धन नेकपा एमाले सहितको गठबन्धन जुन बनेको छ । यसलाई कोट्याउने, भत्काउने, र त्यसबाट बिकल्प खोज्छौ भन्ने हो भने त्यो संभव छैन ।’

    ‘हामीले यसमा बडो राम्रोसँग उहाँहरुलाई भन्नुपर्ने हुन्छ र भनेका पनि छौं । सदासयतापूर्वक कांग्रेसले मुलुकमा अस्थिरता नहोस, स्थायित्व होस्, यो सरकार नै चलोस् हाम्रो नि त्यसमा पोजेटिभ कुरा छ भन्ने हो भने ठिकै छ,’ उनले भने, ‘अर्को उहाँहरुले रचनात्मक प्रतिपक्षको कुरा गर्नु भएको छ । रचनात्मक प्रतिपक्ष भनेको सहि कुरालाई समर्थन गर्ने र गलत कुराको विरोध गर्ने हो । अब हिजो प्रधानमन्त्रीले विश्वासको मत माग्ने कुरा त सही हो । त्यस अर्थमा समर्थन गर्नु भो । त्यसलाई हामीले अन्यथा विश्लेषण गर्नुपर्छ भन्ने लाग्दैन । अब भोलि कांग्रेसले कस्तो व्यवहार गर्छ त्यसमा भर पर्छ ।’

    अहिलेको सरकारमा प्रतिपक्ष रहेन भन्ने प्रश्नमा उनले भने, ‘यसका केही वैधानिक राजनीतिक पाटोहरु छन् । राजनीतिक हिसावले भन्ने हो भने हिजो प्रतिपक्षमा अथवा विपक्षमा मतदान गर्ने सांसद जम्मा दुई जना मात्र हुनुहुन्छ । चित्रबहादुर केसी र प्रेम सुवाल । बैधानिक र राजनीतिक हिसावले हेर्ने हो भने उहाँहरु दुई जनामात्र विपक्षमा हुनुभो । अरु सबै राजनीतिक दल र स्वतन्त्र सांसद्ले समर्थनमा मतदान गर्नुभएको छ ।’

    कांग्रेस प्रमुख विपक्षी दल हुने/नहुने बहसको विषय भएको भट्टराईको भनाइ छ । ‘विपक्षी दलको नेताको हैशियत के हुन्छ ? संवैधानिक परिषद्मा उहाँको उपस्थिति हुन्छ कि हुँदैन ? विपक्षी दलको हैसियतले पाउने सेवा सुविधाहरु राज्यले दिन मिल्छ कि मिल्दैन ? भन्ने केही प्रश्नहरु कानुनविद्हरुले पनि उठाइराखेको पाइएको छ । यसलाई छलफल गरेर एउटा निरुपण गर्नुपर्छ । अब नेपाली कांग्रेसको यो एउटा राजनीतिक निर्णय हो भने त्यसलाई विधानले बाँद्ने कुरा मात्रै पनि भएन । संबैधानिक कुराले बाँध्ने मात्रै कुरा पनि भएन । अब हाम्रो संविधानमा त्यस्तो प्रस्ट व्याख्या पनि कही भएको पाइँदैन,’ उनले भने ।

    जसले प्रधानमन्त्री नियुक्ति गर्ने कागजमा हस्ताक्षर गरेको छ त्यसले समर्थन फिर्ता लिएको औपचारिक जानकारी नदिँदासम्म विपक्षमा बस्न नमिल्ने उनको जिकिर छ ।

    कांग्रेसले एक महिना भित्रमा समर्थन फिर्ता लियो भने के हुन्छ भन्ने प्रश्नमा उनले भने ‘त्यसको केही पनि अर्थ छैन । किनभने जुन पार्टीले प्रधानमन्त्री नियुक्तिको कागजमा समर्थन जनाएको छैन । त्यो पार्टीले विश्वासको मत फिर्ता लिने कुरा पनि हुँदैन । उहाँले विश्वासको मत कहाँ दिनु भएको छ र ? हिजो संसदमा विश्वास छ भनेर पक्षमा मत हाल्नु भो । तर पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री नियुक्ती गर्न हामी सिफारिस गर्छौं भन्ने कागजमा त उहाँहरुले सही गर्नु भएको छैन । जुन राष्ट्रपतिलाई बुझाइएको छ । त्यो कागज महत्वपूर्ण हो ।’

    भोलि हुने सभामुखको रोल पनि यसमा प्रमुख रहन्छ । सभामुखले कांग्रेसले समर्थन फिर्ता लिएर पुन: निर्वाचनमा जाने भनेमा के हुन्छ ? भन्ने प्रश्नमा उनले भने, ‘यस्तो संवैधानिक व्यवस्था कतै पनि छैन । यो हिजोको समर्थन र विश्वासको मत दिएको कुरालाई फिर्ता लिने कुराले सरकारले फेरी विश्वासको मत लिनुपर्ने आवश्यकता छैन। जुन राजनीतिक दलहरुले पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर र समर्थन गरेका छन् ती राजनीतिक दलहरुले समर्थन फिर्ता लिए भने पुन: विश्वासको मत लिनु पर्छ । अथवा, सत्तारुढ दल भनेको मुख्यतया प्रधानमन्त्रीको दल विभाजन भयो भने फेरी पनि विश्वासको मत लिनु पर्छ । अन्यथा लिनु पदैन ।’

    कांग्रेसले राष्टपति समक्ष हस्ताक्षर बुझाएको दलसँग खेल्न खोजेको हो कि भन्ने प्रश्नमा उनले भने, ‘त्यो त उसले खेल्न पाउँछ । त्यसकालागि कांग्रेसलाई ग्राउण्ड छँदै छ । हिजो विश्वासको मत नदिए पनि उसले सरकारको विपक्षमा अर्को गठबन्धन बनाउँछु भन्ने कोसिस गर्यो भने आजको हाम्रो संसदको गणितले उसलाई त्यो कोशिस गर्ने ग्राउण्ड छ । तर, त्यसले मुलुकलाई सहि दिसा त दिँदैन । त्यसले त राजनीतिक अस्थिरता हुन्छ । कांग्रेलाई सरकार बनाउन सबैले भनेकै त थियो । एमालेले प्रतिपक्षमा बस्छु भनेकै थियो । हामी तयार नै थियौँ । यसो हेर्दा उहाँहरुकै गठबन्धनको १३६ सांसद थिए । जम्मा २ जना अपुग थिए । दुई जना उहाँहरुले ल्याइहाल्नुहुन्थ्यो । किन नपुराएको त ? उनले प्रश्न गर्दै भने ७६ (२) को सरकार किन नबनाएको त ? जब उहाँहरुले ७६ (२) को सरकार बनाउन सक्नु भएन तब हामी अगाडि सरेको हो ।’

    ‘कांग्रेसले सरकार बनाउन नसकेपछि हामीले माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीमा अगाडि सारेर ७६ (२) को सरकार बनायौं । अब, यसमा फेरि के को चलखेल ?,’ उनले प्रश्न गरे ।

    नेपाली कांग्रेस अब ढुक्कले पाँच वर्ष प्रतिपक्षमा बस्नुपर्ने उनले बताए । उनले भने, ‘अब कांग्रेसले चलखेल गर्ने होइन । अब कांग्रेसले चलेखल गरेमा मुलुकलाई अस्थितरतातर्फ धकेल्ने मुख्य कारकको अभियन्ता नै हुन्छ ।’

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री बनाउन कांग्रेस सभापति देउवाले प्रस्ताव गरेको भन्ने प्रश्नमा उनले भने ‘राजनीतिमा धेरै खेलहरु हुन्छन् । सबैले आफ्नो पोजिसन बलियो बनाउन खोज्छ नै । तर, त्यो कति न्यायोचित, राजनीति, बैधानीक र नैतिक छ भन्ने कुरा हेर्नुपर्छ । सरकार बनेको एक महिना वितेको छैन । अनि प्रधानमन्त्रीको अफर बाँड्दै हिंड्ने कुरा शेरबहादुर देउवाजीको लागि त्यो भन्दा अनैतिक कुरा केही पनि होइन् । जुन कुरा राजेन्द्र लिङ्देनजीले ठाडै अस्विकार गर्नुभो । राजेन्द्रजीले एकदमै सहि गर्नुभो । तर, देउवाजी एउटा परिपक्व नेताले यति अपरिपक्व कदम जुन चाल्नु भयो सायद उहाँको राजनीतिमा अवकास लिने क्षण नजिक भएर होला । उहाँ धेरै नै हतारिनु भएको, आत्तिनुभएको, छटपटिनुभएको एकदमै तनावमा देखिनुहुन्छ । तनावले केही हुँदैन । धेरै सोचेंर निर्णय गर्नुपर्छ । हाम्रो एउटा सामान्य निर्णयले पनि मुलुकलाई कहाँ पुर्‍याउँछ । त्यो हेर्नु पर्छ ।’

    कांग्रेसले यो देशलाई अस्थिरतातर्फ धकेल्ने कोसिस गरेको छ भन्दै उनले भने ‘त्यसले मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतामाथि भोली गम्भीर प्रश्न उठ्छ । जब देश कमजोर हुन्छ, त्यतिबेला बिदेशीहरुले चलखेल गर्न थाल्छन् । देशभित्र नचाहिने शक्तिको उदय हुन खोज्छ । जस्तै अतिबादीहरु, उग्रबामपन्थी अतिबादीहरु, जातियताबादीहरु, क्षेत्रियताबादीहरुले खेल्न थाल्छन् ।’

    जनता अहिलेका राजनीतिक दलप्रति निराश भएर नयाँ राजनीतिक दलहरुको खोजीमा लागेका छन् नि भन्ने प्रश्न गर्दा भट्टराईले भने ‘उहाँहरु आउनु भएको छ । उहाँहरुसँग हाम्रो कुनै आग्रह पुर्वाग्रह छैन । जनताले जनादेश दिएर आउनुभएका दलहरु हुनुहुन्छ । हामी सरकारमासँगै छौ । नयाँ दल र हामीसँगै सरकारमा काम गरिरहेका छौ । उहाँहरु संबैधानिक बाटोबाट आउनु भएको हो । तर मुलुक अस्थिरतातर्फ फस्यो भने त अतिबादी र अराजक शक्तिहरु आउँछन् । तर, अहिले संसदमा आएका शक्ति त अतिबादी होइनन् ।’

    नेता भट्टराईले कांग्रेस नेतृत्वको गठबन्धन आफूहरुले नभत्काएको जिकिर गरे । उनको भनाइ छ, ‘नयाँ ढंगले जाँऔ भन्दा प्रचण्डजी आउनु भएको हो । नत्र उहाँ कांग्रेसकै समर्थनमा प्रधानमन्त्री हुन खोजी रहनु भएको थियो । त्यही गठबन्धनलाई बचाउन खोजिरहनु भएको थियो । जब त्यो गठबन्धन भत्कियो तब उहाँले विकल्प खोज्नु भएको हो । त्यो विकल्प एमालेलाई देख्नु भयो र एमालेको साथ माग्नुभो । हामीले पनि त्यही खोजेका थियौ । कांग्रेस नेतृत्वको गठबन्धन तोडेर आएमा हामी तयार छौ भनेकै थियौ ।’

    भट्टराईले थपे, ‘कांग्रेस नेतृत्वको गठबन्धनले सरकार नबनाएपछि उसको दाउ ७६ (३) मा जाने दाउ देखियो । जुन ७६ (३) मा प्रधानमन्त्रीले विश्वासको मत नपाएमा ७६ (५) मा जान्छ । ७६ (५) मा जाने वित्तिकै संसदमा सांसदलाई ह्विप नलाग्ने, सांसदहरु स्वतन्त्र हुने त्यो कुराले मुलुकमा फेरी एकपटक अराजकताको पुनरावृत्ति हुन्छ ।’

    कांग्रेसको दाउ मुलुकलाई अस्थिरतातर्फ लैजाने देखिएको बताउँदै उनले कांग्रेस मुलुकलाई अस्थिरतापतर्फ लैजाने मुख्य शक्ति हुन खोजेको आरोप लगाए । जसले आफूलाई लोकतान्त्रिक भन्छ उसैले लोकतान्त्रिक प्रणाली भत्काउने काममा किन संलग्न हुन्छ भनि उनले प्रश्न गरेका छन् ।

    कांग्रेसले सरकारलाई विश्वासको मत दिएर खेल खेल्न थालेको भए त्यसमा एमालेको घोर आपत्ति रहने उनले बताए ।
    ‘यो सरकारलाई टिकाउन र परिणामुखी बनाउन नीति तथा कार्यक्रमले अभिब्यक्त गरेको छ । बजेटका माध्यमबाट पनि कतिपय कुराको सम्बोधन हुने छ’ उनले भने, ‘प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा यो सरकार साढे दुई वर्ष ढुक्कले जान्छ । त्यसपछि एमाले अध्यक्ष ओलीले नयाँ सरकारको नेतृत्व गर्नुहुने छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend