logo

२०८१ माघ २ बुधबार

logo
  • बुधबार, २ माघ २०८१
  • थारु समुदायले मनाए माघी पर्व

    थारु समुदायले मनाए माघी पर्व

    1.2K
    Shares
    थारु समुदायले मनाए माघी पर्व

    काठमाडौं । आज देशभरका थारु समुदायले माघी पर्व मनाएका छन् । थारु समुदायले आजको दिनलाई नयाँ वर्षको दिनको रुपमा पनि मनाउने गर्छन् । यस दिनमा ठूलाबडासँग आशिर्वाद लिने, मुखिया चुन्ने र नयाँ सोचका साथमा आगामी दिन बिताउने कामनासहित मिठोमसिनो खाँदै मनाउने गरिन्छ ।

    पुस मसान्तको दिन सुँगुर/बँगुर जिता मार्ने, आगोको धुनि बाल्दै डफ र मादल सँगै धुमरी गाउँदै रातभर जाग्राम बस्ने चलन छ भने माघी पर्वको दिनमा बिहान सबेरै नजिकैको नदी तथा तालतलैयामा स्थान गरिन्छ ।

    स्नानपश्चात पूजा र भाकल गरे सन्तान सुख प्राप्ति र मनोकांक्षा पूरा हुने विश्वास छ । यस दिनमा थारु समुदायले ढिक्री, अण्डिक भात, खिचरी, तिलको लड्डु, लाईमुरी, भुजा, अन्डी जाँडको झोल, सखरखण्ड, खरिया, सुँगुर/बँगुरको मासु, परेवाको मासु, माछा, घोंघी, गंगटो आदि परिकारहरु खाएर रमाइलो गरिन्छ । माघी पर्वको अवसरमा काठमाडौंको टुडिखेलमा थारु राष्ट्रिय माघी महोत्सवको आयोजना गरी मनाइएको छ ।

    पुस मसान्तदेखि शुरु भएको सो महोत्सवमा थारुहरुको मौलिक पहिचान झल्कने भेषभुषासहित सो समुदाय उपस्थित भएको देख्न सकिन्छ भने मौलिक नाचगान पनि देख्न सकिन्छ ।

    साथै महोत्सवमा मौलिक प्रकारका परिकारहरुको प्रदर्शनी तथा बिक्री वितरण पनि भइरहेको छ । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै थारु राष्ट्रिय माघी महोत्सव मुल आयोजक समितिका सदस्य तथा आर्थिक विभाग प्रमुख चन्द्रप्रसाद चौधरीले माघी महोत्सव उत्साहपूर्ण रुपमा मनाइएको बताए । उनले थारु समुदायले थारु सम्वत २६४६ नयाँ वर्षको रुपमा यस पर्वलाई मनाएको जानकारी दिए । उनले पछिल्लो पुस्ताहरुलाई पनि थारु समुदायको संस्कार, संस्कृति र रितिरिवाजहरुलाई पुस्तान्तरण गर्नु आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend