काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिँचाई तथा जलस्रोतमन्त्री राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । उपप्रधानमन्त्री पदको सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उनले सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा मंगलवार दिउँसो पदभार ग्रहण गरेका हुन् । त्यसक्रममा उनले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्य दल बनाउने पहिलो निर्णय पनि गरेका छन् ।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिँचाई क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निर्णय गरेको नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले बताए ।
नवनियुक्त उपप्रधानमन्त्री लिङदेनले आफूले जिम्मेवारी लिएको मन्त्रालयको काम चुनौतिपूर्ण रहेपनि त्यसलाई अवसरमा बदल्ने दृढता समेत व्यक्त गरे । उनले सञ्चारकर्मीमाझ शुभकामना सुरु गर्नु अघि देवीदेवताको दर्शन गर्न जाने नेपालीहरुको चलन रहेकाले आफूहरु पनि पदभार ग्रहण गर्नु अघि पशुपतिनाथ मन्दिर दर्शन गर्न गएको स्पष्ट पारे । उपप्रधानमन्त्री लिङदेनसहित राप्रपाबाट मन्त्री हुनु भएका सबैले राष्ट्रपतिबाट सपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेका थिए ।