काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधि सभा सभामुखकी उम्मेदवार ईश्वरी न्यौपानेले सभामुखमा आफू विजयी बन्ने दाबी गरेकी छिन् । बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभाको सभामुख पदका लागि उम्मेवारी दर्ता गराएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सभामुखमा आफू निर्वाचित हुनेमा विश्वस्त रहेको बताइन् ।
उनले आफ्नो लागि जित्ने आधारहरु भनेकै प्रतिनिधि सभाका सदस्यहरु भएको बताइन् । उनले निर्वाचन अघिसम्म आफू नेपाली काँग्रेसको नेता भएपनि सभामुख बनेपछि सबैको सभामुखको रुपमा काम गर्ने स्पष्ट पारिन् । उनले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गर्ने बताइन् ।
उनले भनिन्, ‘संसदलाई सभामुखको आवश्यक्ता पर्दछ । त्यो सभामुख निर्वाचनमार्फत हुन्छ । त्यही प्रक्रिया अनुसार मैले उम्मेदवारी दिएकी हुँ । निर्वाचनमा हारजित हुन्छ । निर्वाचनमा लड्दै गर्दा म हार्छु भनेर कोही पनि जाँदैन । म यो निर्वाचनमा पक्कै जित्छु । मेरो जित्ने आधारहरु सांसदको मत हो । निर्वाचनअघि म नेपाली काँग्रेसको नेता हो । सभामुखमा निर्वाचन भइसकेपछि म सबैको सभामुख हो । मैले सभामुख भएर सभा सञ्चालन गर्दा तटस्थ रुपमा रहेर सांसद र संसदप्रति न्याय गरेर सकेसम्म राम्रोसँग संसद चलाउँछु ।’
उम्मेदवार न्यौपानेको प्रस्तावकमा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नकेपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वाला रहेका छन् । उनलाई माधव नेपाल नेतृत्वको नकेपा (एकीकृत समाजवादी), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।