पोखराबाट थप एक शव काठमाडौं ल्याइयो, त्रिवि अस्पतालमा परीक्षण हुँदै
काठमाडौँ । यही माघ १ गते आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको शव आज काठमाडौँ ल्याइएको छ ।
मङ्गलबार नेपाली सेनाको दुई हेलिकोप्टरबाट ४८ शव काठमाडौँ ल्याइएको थियो । मङ्गलबार फेला परेको एक शव भने आज काठमाडौँ ल्याइएको हो । काठमाडौँ ल्याइएका शवको त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षण भइरहेको छ ।
मङ्गलबार काठमाडौँ ल्याइएका शवमध्ये अहिलेसम्म १२ शवको परीक्षण भइसकेको यती एयरलाइन्सले जनाएको छ । दुर्घटनामा मृत्यु भएकामध्ये २२ शवको परीक्षण गरेर पोखरामा नै हस्तान्तरण गरिए पनि बाँकी ४९ शव भने काठमाडौँ ल्याइएको थियो ।
काठमाडौँ ल्याइएकामध्ये पहिचान खुलेका २१ शवको परीक्षण गरेर भोलि बिहान मृतकका परिवारलाई हस्तान्तरण गरिने एयरलाइन्सले जनाएको छ । पहिचान नखुलेका शवको भने डिएनए टेस्ट गरेर मात्र शव परीक्षण गरी मृतकका परिवारलाई बुझाइनेछ । चालक दलका सदस्यसहित जम्मा ७२ जना सवार उक्त विमान दुर्घटनामा ७१ जनाको मृत्यु भइसकेको छ भने बाँकी एकको खोजीकार्य जारी रहेको छ ।
पोखरा पुगेर फ्रान्सेली विज्ञ टोलीले सुरु गर्यो स्थलगत अध्ययन
यसैगरी फ्रान्सदेखि आएको एटीआर विमान निर्माता कम्पनीको विज्ञ टोलीले गत आइतबार पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनाबारे स्थलगत अध्ययन थालेको छ । बुधबार विमान खसेको ठाउँ सेतीखोँचमा पुगी उक्त टोलीले घटनास्थलको अवलोकन गर्नुका साथै दुर्घटनाबारे जानकारी लिएको हो ।
टोलीलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारी, सुरक्षाकर्मी, स्थानीयवासीलगायतले सहजीकरण गरिरहेका छन् । ‘ड्रोन’समेत उडाएर टोलीले घटनास्थलको अवलोकन गरेको थियो ।
दुर्घटनाको अध्ययनका लागि नौ सदस्यीय टोली मङ्गलबार नै पोखरा आइपुगेको थियो । नेपालमा पहिलोपटक भएको एटीआर विमान दुर्घटनाबारे निर्माता कम्पनीले पनि चासोपूर्वक लिएको जनाइएको छ ।