काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन् ।
उनले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडा भित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे । ओलीले प्रधानमन्त्रीलाई विश्वासको मत काँग्रेसले दिएपछि माछा मार्नका लागि ढोक्सा थाप्ने जाल नरच्न आग्रह गरेका थिए । त्यसको जवाफ दिनुपर्ने भन्दै महामन्त्री शर्माले आफ्नो पार्टीको माछालाई जालमा पार्ने कुनै योजना नभएको स्पष्ट पारे । आफैले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनु भयो ? भनि ओलीलाई प्रश्न समेत गरे । महामन्त्री शर्माले भने ‘मैले मेरै जिल्लाबासी श्रद्धेय कमरेडले विश्वासको प्रस्तावको बेलामा बोल्दै गर्दा प्रमुख प्रतिपक्षले विश्वासको मत दिएर ढोक्सा थापेको त होइन भनेर भन्नु भएको कुरामा मैले केही बोलिन भने सायद त्यो अपर्याप्त होला । हामीले ढोक्सा थापेका छैनौं । माछालाई जालमा पार्ने हाम्रो कुनै योजना छैन । तर माछा र ढोक्साको कथा हालेर कसिंलो पिंजडा नबनाउनका लागि मैले रोष्टममा उभिएर मैले अपिल गर्नैपर्ने हुन्छ । आफू प्रधानमन्त्री भएको बेलामा संगैको मित्रले उच्चस्तरीय संयन्त्र बनाउन भन्दै गर्दाखेरी संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र नबनाउ भन्ने, अनि संगैको अर्को मित्र प्रधानमन्त्री भएको बेला संविधानले नचिनेको उच्चस्तरीय संयन्त्र बनाउनु भनेको हामीले ढोक्सा थाप्न खोजेको भन्दा देशको प्रधानमन्त्रीलाई पिजडामा राख्न खोजेको प्रयत्न हो भनेर म संज्ञा दिन चाहन्छु ।’
महामन्त्री शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद भन्ने मान्यतालाई अघि बढाउन पनि सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गरे । आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबै भन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने उनको भनाई थियो । महामन्त्री शर्माले केपी ओली प्रधानमन्त्रीत्व कालको स्मरण गराउँदै आफूहरुलाई प्रधानमन्त्रीलाई सहयोग नगर्ने सभामुख र अनाआवश्यक सहयोग गर्ने राष्ट्रपति नचाहिएको समेत बताए । उनले भने, ‘व्यक्तिगत रुपमा उहाँ शालिन, सुयोग्य हुनुहुन्छ । र, अनुभवी पनि हुनुहुन्छ । यो देशको संविधान निर्माण गर्दैगर्दा संविधान सदस्यको रुपमा उहाँले महत्वपूर्ण योगदान गर्नु भएको छ । सचेतकको रुपमा पनि उहाँले अनुभव हासिल गरिसक्नु भएको छ । त्यसैले म आज देशको यो परिस्थितिको माझमा खासगरी गएको निर्वाचन पछाडि जनताबाट विविध खालको अभिमत प्रकट भएको बेलामा संसदलाई एउटा शालिन, एउटा अनुभवी र एउटा परिपक्व नेतृत्व जरुरी छ भनिरहँदा म मेरो दलको तर्फबाट प्रस्तावको नाताले म अन्य सबै राजनीतिक दलहरुलाई पनि उहाँका लागि मत प्रकट गर्न लागि अपिल र आग्रह गर्न चाहन्छु । दोस्रो कारण छ–हामीले यही संसदबाट सरकार सत्तापक्ष र संसद प्रतिपक्षको भन्ने मान्यतालाई विकसित गरेका हौं । सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिईरहँदा पनि नेपाली काँग्रेस पार्टी प्रष्ट छ–हामी प्रमुख प्रतिपक्ष हौं । र, प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छौं । प्र्र्र्र्र्रमुख प्रतिपक्षको उम्मेदवारलाई माननीय सदस्यहरुले सभामुख पदमा निर्वाचित गर्दैगर्दा त्यसले उसै पनि हामीले प्रमुख प्रतिपक्षको भूमिका जिम्मेवारी ढंगले निर्वाह गर्ने उदघोष गरिरहेका छौं । हाम्रो प्रस्तावको उम्मेदवार सभामुख बन्दैगर्दा यो संसदतर्फ हाम्रो दायित्व झन बढने छ नै । र, हामी उसैपनि अझ नैतिक बन्धनमा बाँधिने छौं । तेस्रो, तत्कालीन शक्ति सन्तुलनको दृष्टिले पनि नेपाली काँग्रेसको प्रस्तावित उम्मेदवार बनाउन बढि उपयुक्त हुन्छ । किनभने मंसीर ४ मा सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा नेपाली काँग्रेस पार्टी स्थापित छ । सामान्यतः सबैभन्दा ठूलो दलले कि सरकारको नेतृत्व गर्छ अथवा सरकारमा सहभागिता राख्छ । तर यो वा त्यो कारण होस् । परिस्थितिबश यो बेला हामी सरकारभन्दा बाहिर छौं । र, सरकारमा बाहिर रहेर पनि विश्वासको मत दिएर हामी अघि बढेका छौं ।
त्यसैले सभामुखको आशन होस् । या शीतल निवासतिरको लक्ष्यहोस् । सबैभन्दा ठूलो दलको त्यो अपेक्षाका साथ त्यसले जनताको बहुमतको प्रतिनिधित्व पनि हुन्छ । र, त्यसबाट शक्ति सन्तुलनको सिद्धान्तको पनि सम्बोधन हुन्छ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु । चौंथो कारणतर्फ जाँदै गर्दाखेरी म नम्रतापूर्वक सितल निवासतर्फको लक्ष्यलाई भन्दैगर्दाखेरी कसैलाई नझस्कनका लागि नम्र निवेदन पनि गर्न चाहन्छु । किनभने २०७४ सालको अनुभवबाट यो संसदले शिक्षा लिनु पर्दछ । २०७४ सालको अनुभवले भन्छ–दुई वटा कम्युनिष्ट पार्टीका अध्यक्षहरु एउटै दलमा हुनुहुन्थ्यो । एक जना अध्यक्ष प्रधानमन्त्री बन्नु भयो । र, अर्को अध्यक्षले आफू निकटका लागि सभामुख बनाउनु भयो । त्यो अभ्यास १ वर्ष पुग्दानपुग्दै तत्कालीन प्रधानमन्त्रीले सार्वजनिक रुपमा भन्नु भयो–मलाई सभामुखबाट सहयोग भएन । त्यसैले यो बेला म एउटा बौद्धिक विमर्शको पनि अपिल गर्न चाहन्छु–आवश्यक सहयोग पनि नगर्ने सभामुख र अनावश्यक सहयोग पनि गर्ने राष्ट्रपति हाम्रो संविधानको परिकल्पना हो कि होइन ? त्यसैले यो बेलामा त्यो लोकतन्त्रका लागि सुखद् भएन अभ्यास । त्यो चुनौतिपूर्ण भयो । जसको कारण २÷२ पटक संसद विघटन पनि भयो । त्यसैले २०७४ को त्यो अनुभवबाट दीक्षित हुँदै फेरी एक वर्षपछि आजको प्रधानमन्त्रीले मलाई सभामुखबाट सहयोग भएन भन्ने खालको अवस्था आउन दिनु हुन्न । त्यसैले हुन्थ्यो, हुन्नथ्यो, त्यो बहस आफ्नो ठाउँमा छ । तर, नेपालको संसदीय इतिहासले आफैमा एउटा नविन प्रयोग गर्न सायद चाह्यो ।
हामी विपक्षमा रहेर पनि विश्वासको मत सरकार दियौं । त्यसैले म माननीय ईश्वरी न्यौपानको फेरी पनि त्यो अनुभवबाट दीक्षित भएर, त्यो कुनै पनि प्रकारको दूर्घटनाको विपक्षमा दृढतापूर्वक उभिन सक्ने व्यक्तित्वलाई मतदान गर्नका लागि पनि म अपिल र आग्रह गर्न चाहन्छु । त्यसैले अन्त्यमा यो प्रकारको विचित्रतालाई चिरी राखेर अहिलेको राजनीतिक प्रक्रियालाई सहज ढंगले लिएर जानका लागि एउटा सालिन, अनुभवी र एउटा सुशिक्षित नेतृको जरुरी छ ।’
महामन्त्री शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने, शालिन, अनुभवी र सुशिक्षित नेतृ भएको दावी समेत पटकपटक गरे ।