काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकतासम्बन्धी मुद्दाको बहस सकिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनी विरुद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ सकिएको हो । अब यो मुद्दामा निर्णय आजै सुनाउने वा पछि गर्ने भन्ने इजलासले तय गर्न बाँकी छ ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा आज बहस सकेपछि निवेदककातर्फबाट वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र रमण कर्णले जवाफी बहस गरेका थिए ।
अधिवक्ता रविराज बसौला, युवराज पौडेललगायतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधानमन्त्री लामिछाने प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदको योग्यताबारे प्रश्न उठाउँदै रिट निवेदन दायर गरेका थिए ।
नेपाली नागरिकता नलिई राजनीतिक दल खोलेको, प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरी सांसद बनेको उल्लेख गर्दै उपप्रधानमन्त्री लामिछानेको सांसद पद खारेजको माग गर्दै सर्वोच्चमा रिट दायर भएको थियो ।