logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्कको निर्माण सुरु

    पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्कको निर्माण सुरु

    2.1K
    Shares
    पाइपलाइनमार्फत पेट्रोल ल्याउन भर्टिकल ट्याङ्कको निर्माण सुरु

    काठमाडौं । नेपाल आयल निगमले आगामी अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी दोस्रो चरणको पाइपलाइन परियोजना अन्तर्गत भर्टिकल ट्यांकहरुको निर्माण शुरु गरेको छ ।

    निगमको मधेस प्रादेशिक कार्यालय अन्तर्गत बाराको अमलेखगञ्जस्थित डिपोमा पेट्रोल र ट्रान्समिक्स ट्यांकको गत मंसिर २९ गते शिलान्यास गरी निर्माण कार्य शुरु भएको हो ।

    निगमले मोतीहारी–अमलेखगञ्ज पाइपलाइनमार्फत २०७६ भदौदेखि डिजेल आयात गरिरहेको छ । मोतीहारी–अमलेखगञ्ज पाइपलाइन परियोजना डिजेल र पेट्रोल दुवै ल्याउने भएपनि पेट्रोल भण्डार गर्न ट्यांकी नहुँदा डिजेल मात्रै आयात भइरहको थियो ।

    अमलेखगञ्ज डिपोका प्रमुख प्रदीपकुमार यादवले अंग्रेजी नयाँ वर्षमा पाइपलाइनमार्फत पेट्रोल ल्याउने गरी भर्टिकल ट्यांकहरुको निर्माणमा आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्यको शुरुवात गरिएको जानकारी दिए ।

    उनले दोस्रो चरणको योजना निर्माणको लागि नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसनले संयुक्त रुपमा लगानी गर्नेगरी सम्झौता भएर काम अगाडि बढेको बताए । उनले दुई वटा पेट्रोल ट्यांकमध्ये निगम र आईओसीले १/१ वटा ट्यांकको लागत व्यहोर्ने जानकारी दिए ।

    प्रमुख यादवले पेट्रोल र डिजेल दुवै हुनसक्ने मिश्रित इन्धन राख्नका लागि २ वटा ट्रान्समिक्स ट्यांक र डिपोभित्रको सुरक्षाका लागि ३ हजार किलोलिटर क्षमताको फायरवाटर ट्यांक भारतीय पक्षले निर्माण गरिदिने बताए ।

    उनले निगमले करिव ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने अनुमान गरिएको जानकारी दिए । निगमले एउटा पेट्रोल ट्यांक, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टम, ओडब्ल्युएस र पीएमसीसी कक्षको निर्माण गर्ने छ । निगमको १ अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान गरेको छ ।

    भारतबाट डिजेल र पेट्रोल दुवै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी र टेक्नीकल खर्चमा मासिक रुपमा निगमलाई १५ करोड रुपैयाँ वचत हुने छ । अहिले डिजेल मात्रै पाइपलाइनमार्फत आयात गर्दा ढुवानी भाडा र टेक्नीकल खर्चमा वार्षिक रुपमा करिव २ अर्ब रुपैयाँ वचत भएको छ ।

    दोस्रो चरणको भर्टिकल ट्यांकहरु निर्माण कार्य आगामी डिसेम्बरसम्म सम्पन्न गरेर अंग्रेजी नयाँ वर्षमा पेट्रोल पाइपलाइनमार्फत आयात गरिने छ । प्रमुख यादवले दोस्रो चरणमा ४ हजार १ सय किलोलिटर क्षमताका २ वटा पेट्रोल ट्यांक, २५० किलोलिटर क्षमताका २ वटा ट्रान्समिक्स ट्यांक, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर), पम्प हाउस र प्रयोगशालाको निर्माण हुने बताए । उनले फायर फाइटिङ सिस्टमको स्तरोन्नति, पानी र तेल छुट्याउने ओडब्ल्युएस सिस्टम तथा पीएमसीसी कक्ष निर्माण गरिने बताए ।

    आयोजना निर्माण सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टितेल गरी तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुने छ । अमलेखगञ्जदेखि बरौनीसम्म आयातका लागि प्रयोग हुँदै आएको ट्यांकरको संख्या शुन्य हुने छ । यसबाट प्राविधिक नोक्सानी शुन्य हुने, ढुवानी भाडा वचत हुने तथा वातावरणीय प्रदुषण कम गर्न समेत सहयोग पुग्ने छ ।

    तीनवटै पदार्थको आयात पाइपलाइनबाटै हुँदा अर्बौं रुपैयाँ वचत हुने अनुमान गरिएको छ । दोस्रो चरणको निर्माण कार्य सम्पन्न हुँदा अमलेखगञ्जको सम्पूर्ण काम अटोमेटिक रुपमा हुने छ । पाइपलाइनको ४२ प्रतिशत प्रयोग भएपनि दोस्रो चरणको निर्माण कार्यसम्पन्न हुँदा पूर्णरुपमा प्रयोग हुने छ ।

    निगमले एउटै पाइपलाइनबाट पेट्रोल र मट्टितेल समेत आयात गर्न सम्भव भएपनि भण्डारण गर्ने क्षमता नहुँदा तीन वर्षसम्म ट्यांकरबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो । उक्त परियोजनाको लिखिता इन्फास्ट्रक्चर प्रा.लि. ले एक वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी सबै पूर्वाधार निर्माणको ठेक्का लिएको छ ।

    यो आयोजना निर्माण सम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । ९० दिनको इन्धन भण्डारण गर्ने सरकारको नीति अनुसार थप ५/५ हजार किलोलिटर क्षमताको ट्यांक निर्माणको तयारी समेत शुरु गरिएको छ । सम्पन्न भएपश्चात मात्रै ५ दिनको माग धान्नसक्ने डिजेल र ७ दिनको माग धान्नसक्ने पेट्रोलको भण्डारणको क्षमता पुग्ने भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend