काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता गरेको र लामिछानेले आज दिउँसो नागरिकता लिएको जानकारी दिए। साढे ११ बजेतिर कार्यालय पुगेका उनले दिउँसो सवा २ बजेतिर नागरिकताको प्रमाणपत्र पाएका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत भएका छन् ।
अदालतको फैसलासँगै लामिछाने अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए । लामिछाने गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।