काठमाडौं । गृह मन्त्रालय नपाए राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । उक्त बैठकले रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएकाले सो मन्त्रालयको जिम्मेवारी पुन: पार्टीले नै पाउनुपर्ने निर्णय गरेको छ ।
सभापतिमा रवि लामिछाने पुनः चयन
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षमा रवि लामिछाने पुन: नियुक्त भएका छन् । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः अध्यक्षको जिम्मेवारी दिएको हो ।
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आईतवार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन् । लामिछानेलाई वि.सं.२०५० सालमा लिएको नागरिकता नम्बर नै उल्लेख भएको नागरिकता प्रदान गरिएको छ ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनः प्राप्तिका लागि कानून बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रवार लामिछानेको सांसद पद खारेज गरेको थियो । सांसद पद खारेज भएसँगै लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पदबाट स्वतः पदच्युत भएका थिए । नयाँ नागरिकता लिएसँगै उनलाई पार्टीको अध्यक्ष बनाउन बाटो खुलेको हो ।