काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय स्वत आफ्ना पार्टीले पाउनुपर्ने बताएको छ । आइतबार पार्टी कार्यालय बसुन्धरामा बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो। उक्त बैठकले रवि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएकाले सो मन्त्रालयको जिम्मेवारी पुन: पार्टीले नै पाउनुपर्ने निर्णय गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डा. मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो पार्टीको दावी स्वभाविकै हुने बताए । आफ्नो पार्टीको जिम्मेवारीमा परेको सो मन्त्रालयमा आफूहरुको दावी हुनु अन्यथा नहुने उनको भनाई थियो । ‘गृह मन्त्रालय हामीले स्वतः पाउने कुरा हो । त्यसमा कसलाई पठाउने भन्ने कुरा पार्टीले निर्णय गर्नेछ’, उनले भने ।
प्रवक्ता ढकालले भने, ‘अहिलेनै यी विषयहरुमा हामीले छलफल गरेका छैनौं । तर पनि हाम्रो आम बुझाई के हो भने समस्या हाम्रो पार्टीमा आएको हो । सहयात्री अन्य दलहरुमा आएको समस्या होइन । अन्य दलहरुले यसलाई समस्याको रुपमा बुझ्नुपर्ने जरुरी नै छैन । यो हाम्रो समस्या भएकाले समाधान गरिसकेको अवस्थामा गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । त्यो जिम्मेवारी बारे आवश्यक निर्णय लिने अधिकार पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै छ ।’
प्रवक्ता ढकालले सो विषयमा पार्टी सभापति लामिछानेले सत्तारुढ अन्य घटकका नेताहरुसँग छलफल गरेर अघि बढ्ने पनि बताए ।