काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटले दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास गरिएको छ ।
अमेरिकी उपविदेश मन्त्री नुल्यान्ड दुई दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आएकी हुन् । भेटमा प्रधानमन्त्री दाहालले नेपालको विकासमा अमेरिकाले पुराउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा थप वृद्धि हुँदै जाने अपेक्षा गरेका थिए । सो अवसरमा उपविदेश मन्त्री नुल्यान्डले प्रधानमन्त्री दाहाललाई नयाँ कार्यकालका लागि बधाई तथा शुभकामना दिएकी थिइन् ।