काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई दिनुपर्ने बताएका छन् । उनले सरकार गठनको बेला भएको सहमति अनुसार गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका हुन् ।
आज विराटनगर विमानस्थलमा पत्रकारहरुको जिज्ञासामा ओलीले भने, ‘हामीले गृह मन्त्रालय रास्वपालाई दिएको हो । अदालतको पूर्णपाठ किन चाहियो ?’
प्रधानमन्त्री प्रचण्डले रविको नागरिकताको विषयमा अदालतको पूर्णपाठ नआएसम्म गृहमन्त्रालय नदिने भनेको बारे पत्रकारको जिज्ञासामा ओलीले भने, ‘पूर्णपाठ किन चाहियो, कण्ठ गर्नलाई हो ? पुराण वाचन गर्ने हो र ?’
सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने उनले बताए ।