logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • चिलीको जङ्गलमा लागेको डढेलोमा २३ जनाको मृत्यु

    चिलीको जङ्गलमा लागेको डढेलोमा २३ जनाको मृत्यु

    1.1K
    Shares
    चिलीको जङ्गलमा लागेको डढेलोमा २३ जनाको मृत्यु

    एजेन्सी । चिलीको दक्षिणी मध्य भागमा अत्यधिक गर्मीबीच जङ्गलमा डढेला लाग्दा कम्तीमा २३ जनाको मृत्यु भएको एक वरिष्ठ सरकारी अधिकारीले शनिबार बताएका छन् । “डढेलोमा ज्यान गुमाउने २३ जनाको निधनप्रति हामी शोक व्यक्त गर्दछौँ,” उपगृहमन्त्री म्यानुअल मोन्साल्वेले भने । “प्रारम्भिक रिपोर्टमा डढेलोमा परी कम्तीमा ९७९ जना घाइते भएका जानकारी प्राप्त भएको छ,” उनले बताए ।

    मोन्साल्वेका अनुसार शनिबार पनि २३२ स्थानमा डढेलो सक्रिय रहेको थियो । जसमध्ये १६ स्थानको डढेलो अझै निभाउन सकिएको छैन ।

    राष्ट्रपति गेब्रियल बोरिकको सरकारले अरौकानियाको दक्षिणी क्षेत्रलाई समावेश गरी ‘सङ्कटकालीन अवस्था’ को विस्तार गरेको छ । नुबल र बायोबियोका क्षेत्रहरूलाई प्राकृतिक विपद् क्षेत्रका रूपमा हेर्ने गरिएको छ । ‘ मृतकहरूको संख्या बढ्दै गइरहेको यस अवस्थामा सङ्कटकालीन अवस्था’ को विस्तारले बोरिकलाई आगोसँग जुध्न सेना परिचालनका लागि मार्गप्रशस्त भएको छ ।

    डढेलो क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) सम्म पुगेको कारण डढेलो नियन्त्रणगर्ने प्रयासमा बाधा पुगेको अधिकारीहरूले बताएका छन् ।

    राजधानी सान्टियागोबाट ५१० किलोमिटर दक्षिणमा रहेको कन्सेपियन शहरमा जानका लागि बिदा स्थगन गरेका बोरिकले ट्वीट गर्दै जंगलमा लागेको डढेलोसँग जुध्न र परिवारलाई सहयोग गर्न आफू निरन्तर लागिरहने बताएका छन् ।

    बोरिकका अनुसार अर्जेन्टिनाले अग्निनियन्त्रक र उपकरण पठाउने प्रस्ताव गरेको छ । ब्राजिल, उरुग्वे, मेक्सिको र स्पेनले पनि सहयोगको प्रस्ताव गरेको गृहमन्त्री क्यारोलिना तोहाले जानकारी दिए ।

    “जलवायु परिवर्तनको विकासक्रमका कारण हामी डढेलोको जोखिममा रहेका देशहरूमध्ये एक बनिरहेका छौँ,” उनले भने ।

    तीन वर्ष अघिसम्म चरम जस्तो देखिने डढेलोको अवस्था अहिले दिनप्रतिदिन सामान्य हुँदै गएको उनले बताए ।

    तीमध्ये १० जनाको मृत्यु कन्सेप्सियन प्रान्तको सान्टा जुआना शहरमा भएको अधिकारीहरूले यसअघि बताएका थिए ।

    डढेलोका कारण कम्तीमा ८८ घर जलेर नष्ट हुनुका साथै ४७ हजार हेक्टर वन क्षेत्र जलेको अधिकारीहरुले बताएका छन् ।

    सान्टा जुआनाका मेयर एना अल्बोर्नोजले भने, “इलाका निकै विकट छ र सडकहरू खराब भएका कारण डढेलो नियन्त्रण प्रयासमा समस्या भएको छ ।

    “हाम्रो ग्रामिण जनसङ्ख्या निकै थोरै छ, एक परिवार एउटा पहाडको टुप्पोमा र दोस्रो अर्को डाँडामा बस्छन्, तर सहरी क्षेत्रमा भीडभाड छ,” उनले भने ।

    शुक्रबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेमा हेलिकप्टरका चालक दलका दुई सदस्य समेत रहेको अधिकारीहरुले बताएका छन् । आगलागीमा परी एक जना अग्निनियन्त्रकको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

    यस क्षेत्रमा करिब दुई हजार ३०० अग्निनियन्त्रक र ७५ वटा विमान तैनाथ गरिएको छ । गर्मीका कारण सन् २०१७ मा पनि यस्तै घटना भएको थियो र उक्त घटना दोहोरिने डर पैदा भएको छ । सन् २०१७ मा उक्त क्षेत्रमा लागेको डढेलोमा परी ११ जनाको मृत्यु हुनुका साथै एक हजार ५०० घर जलेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend