काठमाडौं । सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तरकारीको बिक्रीवितरणमा संलग्न बिचौलियाहरुलाई तत्काल जेल चलान गर्न सरकारसँग माग गरेका छन् ।
प्रमुख सचेतक शाहीले नेपाली किसानहरुलाई आत्महत्या हुनबाट जोगाउन भन्दै उनीहरुलाई तत्काल हत्कडी लगाएर जेल चलान गर्न कृषिमन्त्री ज्वालाकुमारी साहसँग माग गरेका हुन् । आईतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध लगाउन पनि सरकारलाई दवाव दिए । नेपालमा व्यापार नभएर आत्महत्या गर्न बाध्य भएका किसानहरुलाई राहत दिन पनि सरकारले भारतबाट आयात हुने तरकारीमा प्रतिबन्ध गराउनुपर्ने उहाँको तर्क थियो । चालू आर्थिक वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँको हरियो तरकारी आयात गरिएको उल्लेख गर्दै प्रमुख सचेतक शाहीले नेपालको ठूलो धनराशी यसरी खेर गईरहेको बताए । उनले एशीयामा नै कहलिएका ४४ वटा उद्योग कहाँ गयो भनि सरकारलाई प्रश्न गरे । सरकारले चर्को व्याजदर असुली गरेका कारण साना किसानहरुले आत्महत्या र आत्मादाहको बाटो रोज्नु परेको उल्लेख गर्दै प्रमुख सचेतक शामीले यस्तो अवस्था आउन नदिने गरी सरकारले ब्याजदर निर्धारण गर्नुपर्ने पनि बताए ।
प्रमुख सचेतक शाहीले भने, ‘चुनावको बेलामा हामीले भोट माग्दै गर्दा र जनताले हामीलाई भोट हाल्दै गर्दा आफ्नो सपना र भविष्यलाई आत्मासात गर्दै हामीलाई भोट हालेका हुन । तर यो संसदमा आएर हामीले जसरी समय बर्बाद गरिरहेका छौं । यसका लागि जनताले हामीलाई मत हालेका होइनन् । म यही प्रतिवद्धता व्यक्त गर्न चाहन्छु । र, साथसाथै हामीलाई भोट मात्रै होलेका होइनन् । आफ्नो भविष्यलाई, आउने पुस्ताको समेत भविष्यलाई आत्मासात गरेर भोट हालेका हुन । आज प्रजातन्त्र आएको झण्डै ७२ वर्ष भएछ । यसबीचमा झण्डै चार वटा व्यवस्था फेरिए । यो कुसीको रङ फेरियो, त्यो रोष्टमको रङ फेरियो । यहाँ व्यक्ति फेरिए । तर प्रवृत्ति उही रह्यो । हिजो भारतर बंगलादेशबाट हामीले मजदुर आयात गथ्यौंं । आज एक रोटी खानका लागि र एकसरो कपडा ढाक्नका लागि नेपालीहरु विदेश जानुपर्ने परम्परा बसेको छ । अझै हामीले संसदमा बसेर ठूलो कुरा गर्ने सुहाउँदैन भन्ने मलाई लाग्दछ । आज व्यापारीले व्यापार गर्न पाएको छैन । आज किसानले खेती गर्न पाएको छैन ।
विद्यार्थीले गुणस्तरीय शिक्षा पाएको छैन । विरामीले गुणस्तरीय उपचार पाएको छैन । अझै हामी सिद्धान्त र नयाँ क्रान्तिका कुरा गरिरहेका छौं । सत्ता र कुर्सीको लडाईमा रुमलिरहेका छौं । हाम्रो ध्यान कतातिर जाँदैछ, सभामुख महोदय । र, अहिले पनि हिजो विदेशीलाई खाद्यान्न दिने देश आज टमाटर टिप्नका लागि हाम्रा युवा साथीहरु विदेशिनु परेको छ । हिजो हामीेले धान, चामल निर्यात गथ्र्यौं । तर आज नाकाबन्दी गरेपछि हामी भोकभोकै मर्ने डर हुन्छ सभामुख महोदय । त्यतिमात्रै होइन । कुनै समयमा एशीयाकै सबैभन्दा ठूला कहलिएका ४४ वटा उद्योग आज कहाँ गए ? यो अव खोजीको विषय बनेको छ सभामुख महोदय । कुनै जमानामा हाम्रा राष्ट्र प्रमुखले त्यतिखेर संसारकै शक्तिशाली मानिएका बेलायत र अमेरिकाको भ्रमण गर्दा सडकभरी जम्मा भएर सम्मान गर्थे । तर, आज हाम्रो राष्ट्रप्रमुखको सम्मान कहाँ गयो सभामुख महोदय । यो आज हामीले खोजिरहेका छौं । अहिले मात्रै बैंक तथा वित्तिय क्षेत्रमा कम ब्याजदरमा ऋण प्रवाह गरी असुल उपर गर्दा व्याजदर बढाउने गरेका छन सभामुख महोदय । जसले साना व्यवसायीलाई धराशायी भएको र ऋण तीर्न नसकी आत्मदाह र आत्महत्याको बाटो रोज्दैछन ।
इलामका प्रेम प्रसाद आचार्य र पोखराका डल्फिन सहकारीका संचालक यसैकारण आत्महत्या गर्न बाध्य भए । नेपाल सरकारले बैंक तथा वित्तिय संस्था सम्बन्धि हस्तक्षेपकारी नियमन गर्नु प¥यो । जुन अनियन्त्रित व्याजदर छ । त्यसलाई रोक्नु प¥यो जीवन सहजताका लागि अनेकौ कोसिस गर्दागर्दै विषय परिस्थिति, कमजोर आर्थिक नीति, नियम, भ्रष्टाचारयुक्त राज्य संयन्त्र, व्यापार व्यवसायमा कालोबजारीकरणको कारण मान्छेहरु आज आत्मदाह र आत्महत्यको बाटो रोज्न बाध्य छन । आत्मदाह र आत्महत्या गर्न बाध्य पार्नुमा राज्य प्रणालीको हात छ । यसलाई तत्काल परिमार्जन गर्न आवश्यक छ । होइन भने अझै प्रेम प्रसाद आचार्यहरु उत्पन्न हुनेछन । यहाँ हजारौंले झुण्डिएर मनुपर्ने अवस्था आउन सक्छ ।
मैले हिजो एउटा किसान चितवनमा रोईरहेको देखेको छु । हजारौं किसानहरु आज सडकमा आएका छन । तर हामी रोष्टममा बसेर खोक्रा भाषण ठोकिरहेका छौं । हाम्रो नीति कहाँ छ ? माननीय कृषिमन्त्रीलाई आग्रह गर्दछु–भारतबाट आउने तरकारी बन्द गर्नुस् । बारीमा जाउ भविष्य छैन । खाडी जाउ उमेर छैन । आज नेपाली किसानले आत्महत्या गर्न बाध्य भएका छन । झण्डै अघिल्लो वर्ष १७ अर्व, ८० लाख ९० हजार र यो वर्षको ६ महिनामा १० अर्व ११ करोड २२ लाख रुपैयाँ हरियो तरकारी आयात गरिएको छ । विदेश पैसा पठाइएको छ । नेपाली किसान बजार मूल्य नपाएर आत्महत्या गरिरहेका छन । चितवनको यो काठमाडौंको रोष्टम भन्दा १३७ किलोमिटर टाढा छ । तर आज चितवनमा टमाटरको मूल्य ८ रुपैयाँ किलोमा विक्री हुन्छ । तर त्यही टमाटर आज हामी काठमाडौंमा ६० रुपैयाँ किलोमा खान बाध्य छौं । एक किलो टमाचार बराबर ६५० प्रतिशत महंगो छ । यो संसारको कुन देशमा छ सभामुख महोदय ? तत्काल कृषिमन्त्रीज्यूलाई मेरो अनुरोध छ, आग्रह छ–यी बिचौलियालाई हत्कडी लगाएर थुनियोस र यीनलाई बन्द गरियोस् । अनिमात्रै नेपाली किसानलाई आत्महत्या गर्न बाध्य बनाउने बाटो बन्द हुन्छ । नेपालका किसानले भारतमा तरकारी बेच्न नपाउने अवस्था छ । त्यसको अन्त्य गरियोस् ।’
प्रमुख सचेतक शाहीले नेपालका किसानहरुले भारतमा तरकारी बेच्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै त्यसको पनि अन्त्य गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।