logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएनः शेयर लगानीकर्ता

    पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएनः शेयर लगानीकर्ता

    1.4K
    Shares
    पुँजीबजार लगानीकर्ताको अपेक्षाअनुसार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएनः शेयर लगानीकर्ता

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पँुजीबजार लगानीकर्ताको अपेक्षाअनुसार माग सम्बोधन हुन नसकेको लगानीकर्ताहरुले बताएका छन् । शुक्रवार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा पुँजीबजारमा देखिएको नीतिगत समस्या सुधार हुने अपेक्षा लगानीकर्ताको रहेपनि अपेक्षानुसार नभएको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

    गत आर्थिक वर्षको मौद्रिक नीतिमा शेयर मार्जिन धितोकर्जामा लागू भएको ४÷१२ करोडको सीमा खारेज हुनुपर्छ भन्ने माग लगानीकर्ताहरुको रहेको थियो । तर चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा खारेज भएपनि १२ करोडको सीमा कायम रहेकाले त्यो पनि मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा हट्ने अपेक्षा भएपनि राष्ट्र बैंकले सम्बोधन नगरेर शेयर लगानीकर्तालाई राष्ट्र बैंकले उपेक्षा गरको आरोप लगाए ।

    नेपाल इन्भेस्टर फोरमका पूर्वअध्यक्ष तथा शेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले शेयर लगानीकर्ताको माग मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा पनि राष्ट्र बैंकले सम्बोधन नगरेर उपेक्षा गरेको बताए । उनले अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु अर्थतन्त्रमा कही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा र चासो भएपनि अपेक्षा अनुसार नआएको गुनासो गरे । उनले नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बंैकले कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्नेमा विश्वास गरेको उल्लेख गरे । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै पौडेलले नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको उपस्थिति न्युन रहेको भन्दै व्यक्तिगत लगानीकर्ताको तुलनामा ६ देखि ७ प्रतिशत पनि नरहेकाले सरकारले प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले ४÷१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर नगरेको बताए । उनले अहिले पुँजीबजार न्युन बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले शेयर बजारमा प्रभाव नपर्ने बताए । उनले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरे मात्रै पुँजीबजारको दिगो विकास हुनसक्ने बताए ।

    उनले भने,‘शेयर लगानीकर्ताहरुको माग राष्ट्र बैंकले सम्बोधन गरेन । अर्थतन्त्रमा असहज हुँदा ल्याइएका नीतिहरु आज केही सहज हुँदा पुनारावलोकन हुन्छ भन्ने आम लगानीकर्ताको अपेक्षा,चासो र हुन्छ नै भन्ने विश्वास पनि थियो । मौद्रिक नीतिको सम्बोधन आउँदा राष्ट्र बैंकले सम्बोधन नगरेको जस्तो देखिएको छ । अझै पनि मलाई के विश्वास छ भन्दा नेपालका पुँजीबजारका संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नको लागि राष्ट्र बंैकले यसलाई पछि कार्यविधि बनाउँदा शेयर लगानीकर्ताको मागलाई सम्बोधन गर्छ भन्ने विश्वास लिएको छु । नेपालको शेयर बजारमा संस्थागत लगानीकर्ताको न्युन उपस्थिति रहेको छ । हामीले चाहेको शेयर बजारमा संस्थागत लगानीकर्ताको बढी उपस्थिति होस् । व्यक्तिगत लगानीकर्ताको तुलनामा पनि धेरै न्युन छ । ६ देखि ७ प्रतिशत पनि छैन । ४÷१२ करोडको नीतिले व्यक्तिगत लगानीकर्तालाई त्यस्तो असर गरेको अवस्था छैन ।

    ठूलो हिंसा व्यक्तिगत लगानीकर्ता रहेको सन्दर्भमा यसले एक दुई दिनलाई लगानीकर्ताको मानसिकतामा प्रभाव पर्ला तर मलाई विश्वास छ त्यो पनि पर्दैन । अहिले पुँजीबजार न्युन बिन्दुबाट माथिल्लो बिन्दुमा प्रवेश गरिरहेको अवस्थामा र बहुसंख्यक व्यक्तिगत लगानीकर्ता रहेको कारणले यसको असरपर्छ भन्ने लाग्दैन । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत पुँजीबजारमा संस्थागत लगानीकर्तालाई केही प्रोत्साहन गरियोस् भन्ने थियो । यसले दिगो पुँजीबजारको विकासको लागि आरोह अवरोह नहोस् भन्ने हाम्रो चाहना थियो । त्यो भइदिएन ।’

    त्यस्तै, नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले शेयर लगानीकर्तालाई उपेक्षा गरेको बताइन् । उनले शेयर लगानीकर्ताले ४ वटा माग राख्दा समेत राष्ट्र बैंकले सम्बोधन नगर्नु शेयर बजारप्रति उपेक्षा भएको आरोप लगाइन् । उनले आफूहरुले राखेको ४÷१२ को नीतिमध्ये ४ हटिसकेको अवस्थामा १२ को क्याप पनि हटाउन माग गर्दै अर्थमन्त्री र गभर्नरलाई भेटेर विशेष आग्रह गर्दा पनि सुनुवाई नभएको गुनासो गरिन् । उनले शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिनुपर्ने भन्दै राष्ट्र बैंक निर्देशिकामा सम्बोधन गर्ने आशा रहेको पनि बताइन् । उनले लगानीकर्ता संघहरुले १२ करोड (१२ करोड) सम्मको शेयर कर्जाको सीमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता गरिनुपर्ने माग कायम रहेको बताइन् । अध्यक्ष पोखरेलले विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा ल्याउनुपर्ने बताइन् । उनले वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा रहेको बताइन् । उनले शेयर लगानीकर्ता अहिले निराशा हुनुपर्ने अवस्था भने नरहेको बताइन् । उनले शेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री भएकाले अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्नेमा आशा रहेको उल्लेख गरिन् । उनले मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगर्दैमा लगानीकर्ता निराश भएर बजारबाट भाग्न नहुने बताइन् । उनले पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको बताइन् । उनले अर्थमन्त्रीले पुँजीबजारलाई दीर्घकालिन रुपमा व्यवस्थित बनाउँदै बजारका नीतिगत समस्यालाई सुधार गरे मात्रै पुँजीबजारको दीर्घकालिन विकास हुने बताइन् । उनले पछिल्लो समय राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक रहेको भन्दै पुँजी बजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको आरोप लगाइन् । उनले पछिल्लो समय धेरै निराश साना लगानीकर्ता भएको बताइन् ।

    उनले भनिन्,‘वर्तमान सरकारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आएपश्चात पुँजीबजारमा नीतिगत सुधार हुन्छ भन्ने अपेक्षा थियो । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा ग¥यो । समीक्षामा लगानीकर्ताहरुसँग सुझाव मागिएको थियो । हामीले तीन वटा नीतिगत सुधार गर्न मात्रै सुझाव दिएका थियौं । १२ करोडको सीमा खारेज,भारित औसत १०० रहेकोमा १५० गरिएको थियो त्यसलाई १०० मा नै कायम गर्न र बैंकको १६ प्रतिशत पुगेको ब्याजदरलाई कम गर्न सुझाव दिएकाले माग सम्बोधन हुने लगानीकर्ताहरुको अपेक्षा थियो । अपेक्षा अनुसार सम्बोधन हुन सकेको छैन । लगानीकर्ताहरुले माग गरेका सामान्य विषयलाई पनि नियमक निकायले सम्बोधन नगर्दा निराशा छाएको छ । मौद्रिक नीतिको समीक्षा शेयर लगानीकर्ताहरुले अपेक्षा गरेको जस्तो आएको छैन । तर पनि शेयर लगानीकर्ता अहिले निराशा हुनुपर्ने अवस्था छैन । शेयर लगानीकर्ताले चाहेको र बजार बुझेको अर्थमन्त्री हुनुहुन्छ । अर्थमन्त्रीले पुँजीबजारमा रहेका नीतिगत समस्यालाई समाधान गर्न सक्दो प्रयास गर्छु भन्नुभएको छ । राष्ट्र बैंकको सर्कुलरबाट पनि मागहरु सम्बोधन हुन्छ भन्ने आशा छ । केही नै भएन भन्ने अवस्था छैन ।

    अर्थमन्त्री,गभर्नरसँग भेट गरेर गरिएका माग सम्बोधन नहुँदैमा लगानीकर्ताहरुले आत्तिएर पहाड नै खस्यो भन्नुपर्ने अवस्था छैन । मौद्रिक नीतिको समीक्षामा लगानीकर्तालाई सम्बोधन नगरेको मात्रै हो । लगानीकर्ता आत्तिहाल्नु पर्दैन । पुँजीबजार लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् । नयाँ सत्ता समिकरणबाट सरकार बनेको छ । लगानीकर्ताले चाहेको अर्थमन्त्री आउनुभएको छ । अब अर्थमन्त्रीले पुँजीबजारलाई दीर्घकालिन रुपमा व्यवस्थित बनाउनु पर्छ । बजारका नीतिगत समस्यालाई सुधार गर्नुपर्छ । पछिल्लो समय राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक रहेको छ । राष्ट्र बैंक पुँजीबजारप्रति सकारात्मक भएपश्चात बजार राम्रो हुन्छ । पछिल्लो समय सबैभन्दा धेरै निराश भएका साना लगानीकर्ता हो । राष्ट्र बैंकले पुँजीबजारलाई नियमन गर्ने बहानामा नियन्त्रण गरेको हो । नेपालको पुँजीबजारलाई राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भएको छ ।’

    अध्यक्ष पोखरेलले नेपालको पुँजीबजार राजनीतिक इगोको कारण पनि धरासायी बनाउने काम भइरहेको बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend