काठमाडौं । म्यान्चेस्टर सिटी प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो । आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन केभिन डी ब्रुयनाले खेलको २४औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
आर्सनलका लागि खेलको ४२औं मिनेटमा बुकायो साकाले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई बराबरीमा ल्याए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो । सिटीका लागि खेलको ७२औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए ।
सिटीका लागि अर्लिङ हालाण्डले खेलको ८२औं मिनेटमा गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए । जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले २३ खेलमा ५१ अंक जोडेको छ । एक खेल कम खेलेको आर्सनल दोस्रो स्थानमा रहँदै ५१ अंक छ ।