काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद शक्ति बस्नेतले राष्ट्रपतिका लागि राजनीतिक दलभन्दा बाहिर गएर सहमति खोज्नु नहुने बताएका छन् । बुधवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव बस्नेतले राष्ट्रपतिको सन्दर्भमा राष्ट्रिय सहमति आवश्यक रहेको बताए ।
उनले राजनीतिक दलभन्दा बाहिर गएर भने सहमति खोज्नु नहुने बताए । पुस १० गते सरकार बन्दाको अवस्था र आजको अवस्थामा फेरबदल आइसकेको भन्दै उहाँले बदलिँदो परिस्थितिले सहमतिको माग गरेको बताए । देशमा देखिएका चुनौतिहरुको समाधानका लागि पनि राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाई छ ।
उनले भने– ‘राष्ट्रिय सहमति जहाँनिर जुट्छ, त्यहीँनिर गरौँ भनेको हो । तर दलभन्दा बाहिर नजाऔँ अहिले । स्पष्ट कुरा यो हो । राष्ट्रिय सहमति आजको आवश्यकता हो । पुस १० गतेदेखि आजसम्म घटनाक्रममा तलमाथि परेको छ, सरकारलाई समर्थनसहित विपक्षमा बसेको एउटा अवस्था । सरकारमा सहभागि भएका पार्टीहरु सरकार बाहिर बसेर समर्थन मात्र गरेको अवस्था । परिस्थितिमा फेरबदल भइराखेको छ । यो परिस्थितिमा आएको फेरबदलले सहमतिको माग ग¥यो । दोस्रो कुरा आज मुलुकले जे चिज व्यहोरिराखेको छ, जे–जस्ता चुनौतिको सामना गर्नु परिराखेको छ, यो परिस्थितिले पनि राष्ट्रिय सहमतिको माग ग¥यो । तेस्रो कुरा हाम्रो संविधानले परिकल्पना गरेको राष्ट्रपतिको पोजिसन धेरै रस्साकस्सी गर्नुपर्ने विषय होइन ।’
उनले राष्ट्रिय सहमतिको आवश्यकताको सबैले बोध गरेमा सम्भव हुने बताए । राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जुट्न नसकेमा अधिकतम सहमतिको बाटोमा जाने उनले उल्लेख गरे ।