logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

    अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

    1.3K
    Shares
    अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्छ : प्रधानसेनापति

    बुटवल। प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्वबाट हुने गरेका टीकाटीप्पणीप्रति सजग रहनुपर्ने बताएका छन् ।

    नेपाली सेना जङ्गी अड्डाको व्यवस्थापन तथा कल्याणकारी कोषको संयोजनमा आजदेखि बुटवलस्थित मध्यपश्चिम पृतना हेडक्वाटरमा आयोजित भूतपूर्व सैनिक सम्मेलन तथा स्वास्थ्य शिविर कार्यक्रमको शुभारम्भ गर्दै उनले सेनाका विषयमा आमजनमानस दिग्भ्रमित हुनेगरी कपोलकल्पित र झुठा टीकाटीप्पणीप्रति सचेत र सजग रहनुपर्ने बताए ।

    प्रधानसेनापति शर्माले सेनाप्रति हुने यस्ता अनर्गल प्रचारबाजी र सेनाप्रति लक्षित अनेक किसिमका अफवाहको पछि नलाग्न र बुझेर मात्र कुरा गर्न सम्बद्धपक्षको ध्यानाकर्षण गराए ।

    ‘हामी अराजनीतिक ढङ्गबाट काम गरिरहेका हुन्छौँ र सेनालाई स्खलित बनाउने विभिन्न किसिमका दिग्भ्रमित टीकाटीप्पणी सार्वजनिक गरेर बाटो बिराउन अनेकन कोशिस भएको हुन्छ’, उनले भने, ‘त्यसतर्फ कसैले पनि विश्वास नगर्नु होला जानेर यथार्थ के हो भन्ने बुझी अघि बढ्नु तपाईंहरुको पनि कर्तव्य हो ।’

    अवकाश प्राप्त जीवनमा पनि सेनाको रक्षाकवच एवं सेनालाई जनताको समाजसँग जोड्ने महत्वपूर्ण सेतुका रुपमा राष्ट्रले लिएको बताउँदै प्रधानसेनापति शर्माले सोहीअनुसार अवकाशप्राप्त सेनाले इज्जतका साथ काम गरेर समाजलाई अगाडि बढाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे ।

    सैनिक मूल्य, मान्यता र अनुशासन पालना गरी सेवामा रहँदा प्राप्त गरेको ज्ञान, सीप र कलाको अधिकतम सदुपयोग गर्दै राष्ट्र सेवामा समर्पित हुन उनले आग्रह गरे। सीमित साधनस्रोतका बाबजुद पनि सेवा निवृत्त नेपाली सेना र आश्रित परिवारको सामाजिक तथा आर्थिक जीवनस्तर सुधार गर्नेगरी कार्यक्रम ल्याइएको जानकारी दिँदै प्रधानसेनापति शर्माले शिक्षा स्वास्थ्य र स्वारोजगारमूलक कार्यक्रमका लागि सहुलियतपूर्ण दरमा कर्जा उपलब्ध गराउने व्यवस्था रहेकाले यसबाट अधिकतम लाभ लिन अनुरोध गरे ।

    बलाध्यक्ष रथी सीताराम खड्काले नेपाली सेनाभित्र अपनत्वको भावना जागृत गराउन सम्मेलन सहयोगसिद्ध हुने विश्वास व्यक्त गरे । उनले सेना सबैको शक्ति र सम्पत्ति भएको बताउँदै कल्याणकारी कोषबाट सञ्चालित कार्यक्रमबाट लाभ लिन अवकाशप्राप्त सैनिक तथा आश्रित परिवारलाई अनुरोध गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend