
काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिर सरसफाईका लागि ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्रालयमा पत्रकारहरुसँग भेटघाट गर्दै मन्त्रालयले पशुपतिनाथ मन्दिर सरसफाइका लागि ३ महिने अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
उनले आगामी शनिवारदेखि पशुपति सरसफाईको अभियान शुरु हुने र त्यसमा मन्त्रालय मातहतका सबै कर्मचारीहरुसहित आफ्नो अध्यक्षतामा सो अभियान सञ्चालन गर्न लागिएको बताए ।
त्यस्तै पशुपति हिन्दु विश्वविद्यालय स्थापनाका लागि जगमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरीएको पनि उनले जानकारी दिए । मन्त्री किराँतीले आफू मन्त्रीको रुपमा आइसकेपछि विमानस्थलको सरसफाइ र व्यवस्थापकिय कुराहरुमा सुधार ल्याएको बताए ।
त्यस्तै नागरिक उड्डयन प्राधिकरण क्षेत्रमा महिला हिंसाका घटनाहरु घटिरहेका भन्दै महिला बिरुद्ध हुने दुर्व्यवहारको उजुरी लिन स्थायी युनिट स्थापना गर्न लागिएको उनले जानकारी दिए ।
यसैगरी ७ फेब्रुअरीमा ग्राउण्डेड भएको ट्वीनेटर जहाजको लागि छानबिन गर्न उपसमिति बनाइएको उनले बताए । मन्त्रालयले हवाई नागरिक उड्डयन विधेयक प्रक्रियामा लगेको उनको भनाई छ ।
मन्त्री किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल सञ्चालन गर्नका लागि सम्बन्धित निकायसँग व्यवसायिक योजना माग गरिरहेको जानकारी दिए । त्यस्तै पर्यटकहरुलाई विभिन्न प्रकारका सेवा दिनका लागि नमस्ते पर्यटक सेवा २४ सै घण्टा चलाउने तयारी रहेको उनको भनाई थियो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend