logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

    तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

    1.8K
    Shares
    तनहुँको अग्लो स्थानमा साहित्यिक तथा पर्यटन मेला

    तनहुँ । तनहुँको अग्लो स्थानमा रहेको छिम्केश्वरीमा साहित्यिक तथा पर्यटन मेला आयोजना गरिएको छ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा फागुपूर्णिमाको अवसरमा साहित्यिक तथा पर्यटन मेला सम्पन्न भएको हो ।

    ‘गण्डकी प्रदेशकै पर्यटकीय गन्तव्य छिम्केश्वरी जाऔँः राष्ट्रिय फूल लालीगुरॉससँग होली मनाऔँ’ भन्ने नाराका साथ आँबुखैरेनी वाङ्मय परिषद्को आयोजना, आबुखैरेनी गाउँपालिकाको संरक्षण, वडा नं ५ र छिम्केश्वरी युवा क्लबको सहआयोजनामा मेला सम्पन्न भएको हो ।

    कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले छिम्केश्वरीको पर्यटन प्रवद्र्धनका लागि सरकारले सहयोग गर्ने बताए । पर्यटनबाट समृद्धि सम्भव रहेकाले ग्रामीण पर्यटन प्रवद्र्धनमा स्थानीय सरकारको अभियानमा प्रदेश सरकारले साथ दिने उनले बताए ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले युवालाई स्थानीयस्तरमा उत्पादन गर्न जोड दिँदै उत्पादित वस्तुलाई बजारीकरण गर्न समस्या नहुने बताए । छिम्केश्वरीको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको आँबुखैरेनी वाङ्मय परिषद्का अध्यक्ष अनिल श्रेष्ठले जानकारी दिए । मेलामा स्थानीयस्तरमा उत्पादन भएका सामग्री बिक्रीका लागि स्टलमा राखिएको थियो ।

    अन्य स्थानबाट आयात गरिएका सामग्री बिक्रीका लागि प्रतिबन्ध गरिएको मेलामा स्थानीय परिकार, उत्पादनको प्रदर्शनी र धनुषवाण, भाला, छेलो हान्ने खेल खेलाइएको थियो । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति र राष्ट्रिय कविको साहित्य वाचनले कार्यक्रममा रौनक थपेको थियो ।

    त्यसक्रममा तीन हजारभन्दा बढी आन्तरिक पर्यटक छिम्केश्वरी उक्लिएका थिए । गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय १० पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत छिम्केश्वरी, यहाँ रहेको छिम्केश्वरी माई र छिम्कालेक मन्दिर, यहाँका धार्मिक तथा सांस्कृतिक रीतिरिवाजको प्रचार–प्रसार गर्ने उद्देश्य राखिएको छ ।

    गोरखा मनकामनाकी दिदीका रूपमा पुजिँदै आएकी छिम्केश्वरीमाई मन्दिरमा पूजाआजा गरेपछि मनले चिताएको इच्छा पूरा हुने धार्मिक विश्वास छ ।

    सात देवीमध्ये जेठी बूढीदेवीमाई र माइली छिम्केश्वरीमाई छिम्केश्वरी लेकमै अवस्थित छन् भने साइली गोरख कालीमाई, काइली मनकामना माई, अन्तरी इच्छाकामना माई, जन्तरी अन्नपूर्णा माई र कान्छी अकलामाईलाई सोही स्थलबाट दृश्यावलोकनसहित देख्न सकिन्छ । छिम्केश्वरीबाट धवलागिरि, अन्नपूर्ण, लमजुङ, मनास्लु, माछापुच्छे्र लगायतका हिमाल आँखै अगाडि हेर्न सकिन्छ ।

    गाउँपालिकाले छिम्केश्वरीमाई मन्दिरको पुनःनिर्माण गरेको छ । मन्दिर पुग्न गण्डकी प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ । आर्थिक वर्ष २०७५/७६ मा ४१ लाख ६३ हजार सात सय छ को लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिँढी निर्माण सम्पन्न भएको छ । आर्थिक वर्ष २०७६/७७ मा ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिँढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend