काठमाडौँ । काठमाडौँ महानगपालिकाको ठमेल क्षेत्रमा नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको छ । बुधवार गोरखापत्रमा सूचना प्रकाशन गर्दै महानगरपालिकाले नक्सा पास नगरी निर्माण गरेका घर टहरा खाली गर्न १५ दिने सूचना जारी गरेको हो ।
सूचनामा नक्सा पास नगरी निर्माण भएका घर टहराहरूमा व्यवसाय सञ्चालन गरी आएका व्यवसायीले करिब २ वर्षदेखि भाडा रकम नतिरी, जबरजस्ती स्थान ओगटी भाडा रकम माग्दा विभिन्न धाक धम्की दिएको उल्लेख गर्दै १५ दिनभित्र महानगर पालिकोको वडा नम्बर २६ को कार्यालयमा उपस्थित हुन भनिएको छ ।
महानगरपालिकाले नक्सा पास नभएका घर टहरामा व्यवसाय सञ्चालन गर्ने २६ जना व्यक्ति तथा संस्थाको नाम समेत सार्वजनिक गरेको छ ।